सचिवालय बैठक बोलाउन अध्यक्ष ओलीलाई आग्रह
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना सचिवालय सदस्यहरुले सचिवालय बैठक बोलाउन प्रधानमन्त्री समेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखित आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर उहाँहरुले पार्टीभित्र देखिएका समस्या र राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बस्नुपर्ने भन्दै लिखित अनुरोध गरिएको सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । कोरोनाले सिर्जना गरेको संकट, स्थायी कमिटिले गरेका निर्णयहरुको कार्यान्वयन लगायतका विषयमा छलफल गर्नुपर्ने भनाइ उहाँहरुको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ५ सदस्यको लिखित आग्रहमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाउने यस्तो प्रक्रिया सही नभएको बताउनुभएको थियो ।
लिखित पत्रको जवाफमा प्रधानमन्त्री ओलीले बैठक बोलाउनुअघि आपसी सल्लाह र छलफल गरेर एजेन्डा तय गर्ने गरिएको स्मरण गराउनुभएको थियो । साथै उहाँले सहमतिमै सचिवालय बैठक डाकिने पनि बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्