रेलमा पर्याप्त बजेट छुट्याइयो, काम भने भएन (भिडियो रिपोर्ट)
काठमाडौं– सरकारले नेपालमा रेल यातायात विकासका लागि यस वर्ष ८ अर्ब रुपैयाँ छुट्याएको छ। तयार भइसकेको रेलमार्गमा तत्काल रेल सञ्चालन गर्नुका साथै पूर्व(पश्चिम रेलमार्ग निर्माण गर्ने योजना सरकारको छ। उत्साहित रुपमा बजेट छुट्याइए पनि त्यही उत्साहका साथ काम भने हुन सकेको देखिंदैन ।
जनशक्ति व्यवस्थापन गर्न नसक्दा र आवश्यक पूर्वाधारको समेत तयारी नहुँदा जनकपुर–जयनगर रेलमार्गमा तत्काल नियमित रेल सञ्चालन हुन नसक्ने भएको छ । असोजको पहिलो साता नेपाल ल्याइएका दुईवटा रेल आउँदो पुष ४ गते पर्ने विवाह पञ्चमी अगावै जनकपुर जयनगर अन्तरगत पर्ने ५२ किलोमिटर रेलमार्गमा सञ्चालन गर्ने घोषणा गरिएको थियो । तर कोभिड १९ को महामारीका साथै अन्य प्राविधिक समस्याले गर्दा तोकिएकै समयमा रेल संचालन गर्न समस्या हुनसक्ने रेल्वे कम्पनीको भनाई छ ।
रेलसेवा सञ्चालनका लागि प्राविधिक तथा अप्राविधिक सहित २ सय २६ जनाको जनशक्ति व्यवस्था गर्ने गरी दरबन्दी कायम गरिएको छ । रेल सञ्चालनका लागि प्रारम्भिक चरणमा झण्डै एक सय ५० कर्मचारी आवश्यक पर्छ । त्यसमध्ये तत्काल आवश्वक पर्ने २६ जना दक्ष र प्राविधिक जनशक्ति भने भारतबाट ल्याउने तयारी भएको छ ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्गमा सञ्चालन गर्ने गरी असोज २ गते दुई वटा रेल नेपाल ल्याइएको थियो । रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रुले यात्रा गर्न सक्ने रेलवे कम्पनीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्