प्रधानमन्त्रीद्वारा संखुवासभामा राष्ट्रिय गौरवका आयोजनाको निरीक्षण ( भिडियोसहित)

संखुवासभा- प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभामा राष्ट्रिय गौरवका आयोजनाको निरीक्षण गर्नुभएको छ ।

प्रधानमन्त्रीले जिल्लाका विभिन्न विकास निर्माण गतिविधिको निरीक्षण अनुगमन गरी आवश्यक निर्देशन दिनुभयो । काठमाडौंबाट प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ र सांसदहरु राजेन्द्र गौतम तथा पर्शुराम मेघी गुरुङको टोली सहित संखुवासभा पुग्नुभएका प्रधानमन्त्री ओलीले चीनसँग नाका जोडिएको भोटखोला गाउँपालिका वडा नं १ स्थित किमाथाङ्का नाकाको अवलोकन गर्नुभएको हो ।

किमाथाङ्का पुग्ने प्रधानमन्त्री ओली देशकै दोश्रो प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्री ओलीले किमाथाङकामा स्थापना गरिएको बोर्डर आउट पोस्ट (बीओपी) र त्यसका लागि निर्माणाधीन भवनको अवलोकन गरी आवश्यक जानकारी लिनुभयो । उहाँले किमाथाङकास्थित भन्सार कार्यालयका साथै चीनसँगको ब्यापार सहजिकरणका लागि स्थापना गरिने भनिएको सुख्खा बन्दरगाहबारे पनि जानकारी लिनुभयो ।

किथामाङ्कापछि बुधबार नै प्रधानमन्त्री ओलीले भोटखोलाकै वडा नं ३ मा पर्ने च्याम्ताङ पुगेर राष्ट्रिय गौरवको निर्माणाधीन उत्तर दक्षिण कोशी राजमार्गको निरीक्षण गर्नुभयो । च्याम्ताङमा नेपाली सेनाले सडकको ट्रयाक खोल्ने काम गरिरहेको छ । नेपाल चीन र भारतलाइ जोड्ने त्रिदेशीय सडक संजालको रुपमा रहेको कोशी राजमार्गको ट्रयाक खोल्ने कामको प्रधानमन्त्री ओलीले अवलोकन भ्रमण गर्नु भएको हो ।

प्रधानमन्त्रीले सडक निर्माणको प्रगतिबारे जानकारी लिनुका साथै स्थानीय र जनप्रतिनिधिहरुसँग पनि छलफल गर्नुभयो । प्रधानमन्त्री ओलीले बुधबार नै देशकै ठूलो अरुण तेस्रो जलविद्युत आयोजनाको बाँधस्थलको अवलोकन गर्नुभयो ।

प्रधानमन्त्री बुधबार साँझ नै काठमाडौं फर्किनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.