नेपालमा कोरोना संक्रमित २ लाख नाघे
• २४ घण्टामा २५६९ जना संक्रमित • उपत्यकामा मात्रै १२६१ जना • १६६६ जना डिस्चार्ज • थप २६ जनाको मृत्यु
काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २ लाख नाघेको छ । गत २४ घण्टामा २५६९ जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १००८१ जनाको पीसीआर परीक्षण भएको छ ।
काठमाडौं उपत्यकामा मात्रै १२६१ जना संक्रमित भएका छन् । काठमाडौंमा ९७६, भक्तपुरमा ८१ र ललितपुरमा २०४ जना संक्रमित भए ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६६६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १६२२४३ रहेको छ । नेपालमा निको हुनेको दर ८१.१ प्रतिशत रहेको छ ।
कोरोनाबाट थप २६ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११७४ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।
प्रतिक्रिया राख्नुहोस्