लकडाउनपछि पहिलो फुटबल, खेललाई पुरानो लयमा फर्काउने प्रयास

विश्वमा कोरोना भाइरसको संक्रमणपछि खेलकुद क्षेत्र विस्तारै चलायमान हुँदैछ। विभिन्न मुलुकमा फुटबल तथा क्रिकेट जस्ता खेलका सीमित प्रतियोगिताहरु सुचारु रुपले सञ्चालन भइरहेका छन। नेपाली खेलकुदका गतिविधिलाई पनि पुन: सुचारु गर्न राष्ट्रिय खेलकुद परिषदले पहल गरेको छ।

यसैक्रममा नेपाली फुटबल खेलाडीहरु लामो समयपछि बिदेशमा खेल्दैछन्।

भोलि अर्थात कार्तिक २८ गते शुक्रबार बंगलादेशको राजधानी ढाकामा सीमित दर्शकहरुको उपस्थितिमा नेपाल तथा बंगलादेशका राष्ट्रिय फुटबल टिमबीच मैत्रिपूर्ण खेल हुँदैछ।

निर्धारित कार्यक्रम अनुसार दुई मुलुकका टिमबीच भोलि तथा मंसिर २ गते गरी २ वटा खेलहरु हुनेछन्।

बंगलादेश फुटबल महासंघको निमन्त्रणामा नेपाली खेलाडीहरु ढाका गएका हुन्। महासंघका अनुसार बंगलादेशको राष्ट्रिय फुटबल टोलीमा त्यहाँका बरिष्ठ खेलाडीहरुको सहभागिता रहनेछ।

ढाकाको बंगबन्धु रंगशालामा हुने प्रदर्शन खेलका लागि बंगलादेशको टिमले आवश्यक तयारी गरेको छ। बंगलादेशको टिमले मैत्रीपूर्ण खेलका लागि २ हप्ता तयारी शिविर सञ्चालन गरेको थियो। नेपाली टिमले पनि ढाकामा २ दिन क्वारेण्टिनमा बसेपछि शेख जमाल धनमण्डी मैदानमा अभ्यास गरेको थियो।

ढाकामा अभ्यास गर्दै नेपाली खेलाडी

नेपाली टिमका सदस्यहरु काठमाडौंमा कोरोनाको परीक्षण गरेका थिए भने ढाकामा पनि परिक्षणपछि नेगेटिभ रिपोर्ट आएपछि मात्र अभ्यास सुरु गरेका थिए।

अर्को वर्ष हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको छनौट चरणको खेलको पूर्व तयारीको अवसरका रुपमा ढाकामा हुने खेललाई नेपाल र बंगलादेश दुबै टिमले लिएका छन्।

बंगलादेश नेपालकालागि कुनै नौलो टिम होइन। विगतमा नेपालमा आयोजना भएका विभिन्न प्रतियोगिता खेल्न बंगलादेशका टिम काठमाडौं आउने गरेका थिए। तर अहिले नेपाली खेलाडीहरुले उनीहरुको खेल देख्न नपाएको करिब १ बर्ष भइसकेको छ।

प्रशिक्षकहरुको अपेक्षा

नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले ढाकामा बंगलादेशका पत्रकारहरुसँग कुराकानी गर्दै आफ्नो टिमले राम्रो खेल प्रदर्शन गरी नेपालको पक्षमा नतिजा ल्याउन प्रयास गर्ने कुरा बताउनु भएको बंगलादेश सम्वाद समिति (बिएसएस)ले जनाएको छ ।

उहाँले २ वटा खेलमा राम्रो नतिजा ल्याई नेपालको फिफा बरियताक्रममा सुधार ल्याउन प्रयत्न गरिने स्पष्ट पार्नु भयो। यसैगरी बंगलादेशका बिदेशी प्रशिक्षक जेमी डेले कतारमा विश्वकप छनौट खेल्नु अघि हुन लागेको दुईवटा खेल टिम तयारीको लागि राम्रो अबसर भएको धारणा ब्यक्त गर्नु भयो।

ढाकामा अभ्यास गर्दै नेपाली तथा बंगलादेशका खेलाडीहरु

ढाकामा उपाधि जित्दा

नेपालले सन् १९९३ मा ढाकामा आकर्षक खेल प्रस्तुत गर्दै दक्षिण एशियाली खेलकुदको फूटबलको उपाधि जितेको थियो। सो प्रतियोगिताको फाइनलमा नेपालले भारतलाई टाईब्रेकरमा ३ गोलका बिरुद्द ४ गोलले पराजित गरी स्थानीय बंगबन्धु रंगशालामा मुलुकको गौरव बढाएको थियो।

नेपाल र बंगलादेशबीच सन् १९८३ देखि सन् २०१८ सम्मको अबधीमा १९ पटक खेल भएका थिए। जसमा नेपालले ६ वटा खेल जितेको थियो भने बंगलादेशले १२ वटा खेलमा बिजय हासिल गरेको थियो। एक खेल भने बराबरीमा टुंगिएको थियो।

ढाकामै नेपाली राष्ट्रिय फुटबल टोलीले २३ वर्षपछि इतिहास रच्दै बंगबन्धु गोल्डकपको उपाधि हासिल गर्न सफल भएको थियो। उक्त प्रतियोगिताको फाइनलमा बहराइनको ओलम्पिक टिमलाई शुन्यका बिरुद्द ३ गोल प्रहार गरी बंगलादेशका प्रधानमन्त्री शेख हसिना जावेदको हातबाट ५० हजार अमेरिकी डलर नगदसहित बंगबन्धु गोल्डकप ग्रहण गरेको थियो। प्रतियोगितामा ह्याट्रिक गर्न सफल नेपाली फरवार्ड नवयुग श्रेष्ठ यसपाली पनि खेल्दैछन।

बंगलादेशमा बालगोपाल

सन् १९९३ मा नेपालले बंगलादेशमा दक्षिण एशियाली खेलकुदको फुटबलमा स्वर्ण पदक जित्दा बालगोपाल महर्जन पनि टिममा सामेल थिए। उनले सन २००१ देखि २००३ सम्म ३ सिजन बंगलादेशको ए-डिभिजनको क्लब ब्रदर्श युनियनमा अनुबन्ध भई खेलेका थिए। उनले १ सिजन उक्त क्लबमा प्रशिक्षकका रुपमा समेत कार्य गरेका थिए।

बालगोपाल महर्जन, नेपाली टिमका मुख्य प्रशिक्षक

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

बिदेशी टिममा प्रशिक्षकको रुपमा कार्य गर्ने अबसर पाउने पहिलो नेपाली बन्न सफल भएका थिए। उनकै प्रशिक्षणमा नेपालले बंगलादेशको प्रतिष्ठित प्रतियोगिता बंगबन्धु कप जितेको थियो। बंगलादेशी फुटबल अधिकारी तथा खेलप्रेमी माझ परिचित बालगोपालको प्रशिक्षणमा रहेको नेपाली टिमको खेल हेर्न ढाकामा प्रतिक्षा गरिएको छ।

अन्य खेलाडीहरु पनि बंगलादेशमा

नेपाली खेलाडीहरुले ब्यवसायिक फुटबल खेलको अभ्यास गर्ने अबसर बंगलादेशबाट पाउँदै आएका छन। बंगलादेशका बिभिन्न क्लबले लामो समय अघिदेखि नेपाली खेलाडीलाई अनुबन्धित गरेर खेलाउँदै आएका छन।

यसक्रममा नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान गणेश थापाले ढाकाको मोहम्मडन स्पोर्टस क्लबबाट खेलेका थिए। उनको खेलको अहिले पनि बंगलादेशका पत्रकारहरुले स्मरण गर्ने गर्दछन।
अर्का पुर्व कप्तान हरि खडकाले पनि मुक्ति जोधा टिमसँग खेलेका थिए। नेपाली खेलाडी सन्तोष साहु खलले पनि बंगलादेशको चितागोङ क्लबबाट ब्यबसायिक फुटबल खेलेका थिए।

नेपाली राष्ट्रिय फुटबल टिमले कोरोनाको महामारीका कारण नेपालमा खासै तयारी गर्ने अबसर पाएका छैनन। तर विषम परिस्थितिमा पनि बिदेशी मुलुकमा गएर खेल्ने अबसर पाउनु कम महत्वपूर्ण मानिएको छैन।

यसपटकको खेलमा जस्तोसुकै नतिजा प्राप्त भएपनि यसले खेलकुद क्षेत्रलाई सुचारु रुपमा अघि बढाउन पक्कै सहयोग गर्नेछ।

बंगलादेशमा खेलका दौरान हासिल हुने अनुभवले नेपाली खेलकुदलाई आगामी दिनमा अघि बढाउन सघाउने अपेक्षा गरिएको छ।

(लेखक सिलवाल नेपाल टेलिभिजनका सेवा निवृत्त निर्देशक हुनुहुन्छ।)

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.