पछिल्लो समय युरोपेली मुलुकहरुमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बृद्धि
काठमाडौं- पछिल्लो समय युरोपेली मुलुकमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढेको छ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमणअन्तर्गत बेलायत, फ्रान्स, इटाली, पोल्याण्ड लगायतका मुलुकहरुमा संक्रमण ग्राफ निकै बढेको छ ।
पछिल्लो २४ घन्टामा मात्रै इटालीमा ३२ हजार नयाँ संक्रमित थपिए । जर्मनी, पोल्याण्ड लगायतका मुलुकमा १५ देखि २० हजारको हाराहारीमा एकैदिनमा संक्रमित थपिएका छन् ।
युरोपमा बढ्दो संक्रमण नियन्त्रणका लागि धेरैजसो मुलुकहरुले लकडाउन गर्नुका साथै कोरोना सम्बन्धी प्रतिबन्धात्मक व्यवस्थामा कडाई गरेका छन् ।
विश्वमै सबैभन्दा बढी संक्रमण भएको मुलुक भने संयुक्त राज्य अमेरिका हो । अमेरिकामा एकै दिनमा १ लाख ४१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकामा हालसम्म १ करोड १६ लाखभन्दा बढी संक्रमित पुगिसकेका छन् भने संक्रमणकै कारण २ लाख ५४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।
कुनै समय दैनिक संक्रमण १ लाखको हाराहारीमा पुगेको भारतमा पछिल्लो समय संक्रमण घटेको छ । भारतमा पछिल्लो २४ घन्टामा ३८ हजार बढी नयाँ संक्रमित थपिएका छन् ।
विश्वभर हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५ करोड ५९ लाख नाघेको छ । संक्रमणकै कारण विश्वभर १३ लाख ४२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।-
प्रतिक्रिया राख्नुहोस्