प्रधानमन्त्री ओली आज पूर्वी जिल्लाहरुको कार्यक्रममा सहभागी हुने
ताप्लेजुङ-प्रधानमन्त्री केपी शर्मा ओली आज ताप्लेजुङको ओलाङचुङगोला र घुन्सा जाँदैहुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले ओलाङचुङगोला नाका अवलोकन, सीमा सुरक्षा पोस्टको निरीक्षणका साथै घुन्सा फाउन्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले जानकारी दिनुभएको छ ।
फक्ताङलुङ गाउँपालिक–६ लेलेप घुन्सालाई नमुना गाउँ घोषणा साथै घुन्साबासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको घुन्सा फाउन्डेसनकी अध्यक्ष याङजुम शेर्पाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेकपा नेता सुवास नेम्वाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई आउने कार्यक्रम रहेको समेत प्रजिअ चापागाईंले जानकारी दिनुभएको छ ।
सदरमुकाम फुङलिङबाट तीन दिन पैदल दूरीमा पर्ने घुन्सामा प्रधानमन्त्रीको स्वागतका लागि प्रदेश सांसद, गाउँपालिका तथा नगरपालिका प्रमुख, उप–प्रमुख, पार्टी कार्यकर्तालगायतको उपस्थिति भइसकेको छ ।
प्रधानमन्त्री यो क्षेत्रमा मंसिर ५ गते नै जाने कार्यक्रम थियो । पार्टीको आन्तरिक विवादका कारण उक्त कार्यक्रम मंसिर २ गते स्थगित भएको थियो । ताप्लेजुङको कार्यक्रम पश्चात प्रधानमन्त्री ओली इलामको जौबारी जाने कार्यक्रम रहेको हाम्रा संखुवासभा संवाददाता सुवास आचार्यले जानकारी दिनुभएको छ ।।
प्रतिक्रिया राख्नुहोस्