सिताके च्याउ- आम्दानीको राम्रो आधार

गोरखा-गोरखाका एक किसानले सिताके च्याउको खेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।

गोरखा नगरपालिका–५, ठूलोरिपका स्थानीय कृषक सानुमाया थापामगरका परिवारले च्याउ खेतीबाट बार्षिक १२ लाख रुपैँयाभन्दा बढी आम्दानी गर्दै आएका हुन् ।

बजारमा राम्रो मूल्यमा बिक्रि हुने सिताके च्याउको व्यवसायिक खेतीले थापामगरको परिवारका २२ जना परिवार पालिँदै आएका छन् ।

थापामगरले २०७२ साल माघ महिनाबाट सिताके च्याउ खेती गर्न सुरु गर्नुभएको हो। सिताके च्याउको खेतीबाट सिजनका बेला दैनिक ५ हजार रुपैँयासम्म आम्दानी गर्ने गरेको कृषक थापा मगरको भनाइ छ ।

अहिले बजारमा प्रतिकिलो ५ सय रुपैँयामा सिताके च्याउ बिक्रि हुने गरेको जानकारी उहाँले बताउनुभयो ।
उत्पादन भएका च्याउ बजार भन्दा पनि वरपर र छरछिमेकलाई बिक्रि गर्दैैमा सकिने भएकाले मुख्य बजारमा पुर्‍याउन अझै नपाएको कृषक थापामगरको भनाइ छ ।

बिशेषगरी, मंसिरदेखि चैत महिनासम्म यो च्याउको राम्रो उत्पादन हुने गर्छ ।

थापामगरको परिवारले दुई वटा प्लास्टिकको घर निर्माण गरेर सिताके च्याउको खेती गर्दै आएका छन् ।

ती घरमा करिब १ हजार वटा काठको मुढामा सिताके च्याउ खेती गर्दैै आएको उहाँले बताउनुभयो । यसका लागि खासै धेरै लगानी पनि गर्नु नपर्ने किसान थापामगरको भनाइ छ ।

व्यवसायिक रुपमा च्याउ खेती गर्न थालेको ५ बर्ष भइसक्दा पनि कतैबाट पनि आर्थिक तथा प्राबिधिक सहयोग भने नपाएको उहाँले गुनासो गर्नुभयो ।

सुरुमा काठको मुढामा च्याउको बिउ प्वाल पारेर रोपेपछि करिब ६ महिनापछि यसको उत्पादन सुरु हुन्छ । सुरुमा राम्रो हुदैन कि भन्ने लागेको भएपनि अहिले उत्पादन र आम्दानी भएको देखेर आफुहरु सिताके च्याउको खेतीबाट सन्तुष्ट भएको कृषक थापामगरले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.