अर्थमन्त्रीद्वारा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न निर्देशन

काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेट बक्तव्यमा उल्लेखित राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न निर्देशन दिनु भएको छ ।

अर्थ मन्त्रालयका सचिवहरु, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक, भन्सार तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरु लगायतको सहभागितामा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले कोभिड– १९ ले सिर्जना गरेका चुनौतीहरुको सामना गर्दै राजस्व संकलनको लक्ष्य पूरा गर्न कुनै सम्झौता नगर्ने बताउनुभयो । उहाँले नियतवश त्रुटि, कमजोरी गर्ने र असल मनसायबाट बिचलित हुने कर्मचारी लगायत जो कोहीलाई पनि नछोड्ने बताउनु भयो ।

डर, त्रास सिर्जना गरेर कर्मचारीहरुलाई काममा नलगाउने स्पष्ट पार्दै अर्थमन्त्री पौडेलले योग्यता र क्षमताको कदर सहित काम गर्ने अनुकुल परिस्थिति सिर्जना गरेर परिणाम निकाल्ने बताउनुभयो । ‘कठिनाइ र समस्याहरुलाई समाधान गर्न मन्त्रालयले सहयोग, सहजीकरण र प्रोत्साहन गर्छ । लक्ष्य पूरा भए हामी सम्मान गर्छौ । पूरा नभए तपाईँहरु दण्डित हुनुपर्छु,’ उहाँले भन्नुभयो ।

अर्थमन्त्री पौडेलले कोभिडका कारण ‘ब्याक गेयर’ लगाएर राजस्वको लक्ष्य निर्धारण गरिएको भन्दै चालू आर्थिक वर्ष सकिदा धेरैलाई सम्मान गर्ने वातावरण बनाउन अनुरोध गर्नुभयो । उहाँले इमान्दार र सक्रिय भएर लाग्न पनि निर्देशन दिनुभयो ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले राम्रो काम गर्नेलाई मन्त्रालयले संरक्षण तथा पुरस्कृत गर्ने र कार्य सम्पादन कमजोर भए मन्त्रालय कठोर बन्ने बताउनुभयो । उहाँले राजस्वको लक्ष्य पूरा गर्न र त्यो भन्दा बढी परिणाम निकाल्नका लागि आवश्यकता अनुसार कार्यक्रम संशोधन र रणनीतिहरु बनाएर अघि बढ्न निर्देशन दिनुभयो ।

राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गर्दै लगानीलाई प्रोत्साहन गर्ने गरी काम गर्न अनुरोध गर्नुभयो । उहाँले करदाता, लगानीकर्ता, सेवाग्राहीले गुनासो नगर्ने गरी काम गर्न आग्रह गर्दै निर्णय र कार्यान्वयन प्रक्रियामा समस्या भए समाधान गर्ने बताउनुभयो ।

कार्यक्रममा १ सय भन्दा बढी कर्मचारीको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.