प्रजातन्त्र सेनानी कामीको निधन

काठमाडौं- प्रजातन्त्र सेनानी दिलबहादुर कामी (घोइरो कामी) को ८४ वर्षका उमेरमा निधन भएको छ ।

गण्डकी प्रदेशअन्तर्गत लमजुङ मध्यनेपाल नगरपालिका–७ इशानेश्वरमा बस्दै आउनुभएका कामीको आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको हो ।

गत जेठदेखि उहाँमा दम र मुटुको समस्या बल्झिएको थियो । अस्वास्थका कारण आफ्नै निवासमा कष्टकर जीवन बिताउँदै आउनुभएको थियो ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति लमजुङका सभापति भेषबहादुर पौडेलको उपस्थितिमा आज उहाँको अत्यष्टि मादी खोला किनारमा गरिएको जिल्ला कार्यसमितिका पूर्व सचिव आनन्द घिमिरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उहाँको निधनले हामीलाई दुःखी तुल्याएको छ ।” प्रजातन्त्र सेनानी कामीका एक छोरा, एक बुहारी, चार छोरी र छोरापट्टीका एक नाति हुनुहुन्छ । श्रीमतीको भने करिब दुई दशक अघि नै निधन भइसकेको छ ।

उहाँ नातीसँग बस्दै आउनुभएको पार्टीले जनाएको छ । प्रजातन्त्र सेनानी कामी बिपी स्मृति ट्रस्टद्वारा विसं २०७२ मा सम्मानित हुनुभएको थियो । घोइरो कामीले विसं २००६ मा राणा शासनका विरुद्धमा काँग्रेसको झण्डा देखाएर मुलुकमा प्रजातन्त्र स्थापनाको आह्वान गर्नुभएको थियो ।

विसं २००६ मा काँग्रेसद्वारा आह्वान गरिएको राणा शासनको विरुद्धमा झण्डा बोकेर जिल्लाको इशानेश्वर भेगमा गरेको प्रदर्शनको सम्मानस्वरुप प्रजातन्त्र आएपछि नवलपरासी जिल्लामा तीन कट्ठा जग्गासमेत बकस प्राप्त गर्नुभएको थियो ।

उक्त जग्गा बिक्री गरेर उहाँ यस लमजुङको तत्कालीन इशानेश्वर गाविसको चिसङ्कु गाउँबाट लमजुङकै भोर्लेटारमा बसाइँसराइ गरेर बस्दै आउनुभयो ।

बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको निकट रहेर राजनीतिमा होमिएका घोइरो कामी काँग्रेसका साहसी, अनुशासित तथा इमान्दार कार्यकर्ताका रुपमा चर्चित हुनुहुन्थ्यो ।

त्यति बेला काँग्रेस नेता भट्टराईले कामीको इमान्दारी देखेर आफूले लगाएको कोट फुकाली लाउन दिएको र कामीले उक्त कोटमा पैसा रहेछ भन्दै भट्टराईलाई पैसा फिर्ता गरेको प्रसङ्ग काँग्रेस वृत्तमा चर्चाको विषय बनेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.