गुल्मीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो, २ घाइते
गुल्मी- गुल्मीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
आज बिहाना इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप गाउँपालिकाको वडा नम्बर-४ स्थित हुल भन्ने स्थानमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिनुभयो ।
दुर्घटनामा ५ जनाको घटनास्थलमै र १ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमै मृत्यु हुनेमा इस्मा गाउँपालिका–४ हुलका ६५ बर्षीय डम्बर हितान, ३३ बर्षका शिव दर्लामी, ३० बर्षका बसन्त दर्लामी, ३३ बर्षको धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० बर्षका सुन्दरी थापा छन भने गुल्मी अस्पतालमा उपचारको क्रममा १९ बर्षका फर्सुराम थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै २८ बर्षीया सरस्वती दर्लामी र सहचालक २५ बर्षको कमल हितान घाइते भएका छन् ।
चालक बुद्ध बस्नेत सकुसल रहेका प्रहरीले जनाएको छ ।
घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।
जिपमा चालकसहित ९ जना सवार रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको जिप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो । दुर्घटना स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिहरुले उद्धार गरेको इस्मा गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताउनु भयो ।।
प्रतिक्रिया राख्नुहोस्