चितवनको पर्यटन विकास गर्न दिगो रोजगारी तालिम परियोजना सुरु

चितवन- चितवनमा पहिलो पटक सार्वजनिक निजी सहकार्य मोडलमा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने अभियानको गृहकार्य थालिएको छ ।

रोजगारउन्मुख सिपमूलक तालिम परियोजना सुरु गर्दै चितवनको पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने अभियान स्थानीय सरकार, होटल, रेष्टुरेन्ट, होम-स्टे सञ्चालक र व्यवसायीहरुको समन्वय र सहकार्यमा गहृकार्य सुरु गरिएको हो ।

मुलुकको तेश्रो पर्यटकीय गन्तव्य सौराहामा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित सुरु गर्ने रोजगारउन्मुख सिपमूलक तालिम परियोजना ब्रिलियन्ट मेनपावर ट्रेनिङ सेन्टरको आयोजनामा गर्न लागिएको हो ।

सेन्टरले यसअघि पर्यटकीय क्षेत्र कास्की, लम्मजुङ्ग जिल्लामा परियोजना सुरु गरिसकेको छ । सार्वजनिक निजी सहयकार्यको मोडलमा दिगो रोजगारिका लागि पर्यटन क्षेत्रमा तालिम परियोजना सुरु भएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले जानकारी दिनुभयो ।

उहाँले कारोना महामारीका कारण सौराहा पर्यटनमा भएका केहि दक्ष जनशक्तिसमेत पलायन भएको अवस्थामा परियोजना सुरु हुनु सौराहाका लागि सुखद् भएको बताउनुभयो ।

उहाँले सौराहामा १ सय १० भन्दा बढी होटल र ६० वटा भन्दा बढी रेष्टुरेन्ट रहेकोमा मुस्किलले २० प्रतिशतमा मात्रै दक्ष जनशक्ति रहेको जानकारी दिनुभयो ।

आज एउटा औपचारिक कार्यक्रम गर्दै रत्ननगर नगरपालिका, क्षेत्रीय होटल संघ सौराहा, रेवान सौराहा, अन्य पर्यटनसम्बद्ध संघ संस्था र व्यवसायीहरुसँग छलफल गरेर तालिम परियोजना सुरु गरिएको हो।

कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले वेरोजगारहरुलाई मेयरसँग उद्यमशिलता कार्यक्रम सार्वजनिक भएको अवस्थामा रोजगारउन्मुख सिप तालिम उपयोगी हुने बताउनुभयो ।

ब्रिलियन्ट मेनपावर ट्रेनिङ सेन्टरका टिम लिडर करुणनिधी ज्ञवालीले भन्नुभयो-“यहाँ दक्ष जनशक्ति नहुदाँ सोचे जति प्रतिफल पाउन सकिएको छैन्, अब हामीले वेरोजगारलाई रोजगारसमेत हुने गरी आवश्यकता अनुसार गुणस्तरीय तालिम दिनेछौँ ।”

सेन्टरले युरोपियन युनियनको आर्थिक लगानी, ब्रिटिस काउन्सिलको व्यवस्थापन तथा दक्षता परियोजनाको सहयोगमा तालिम परियोजना अन्तर्गत होटल तथा पर्यटन सम्बन्धी कुक, वेटर, हाउस किपिङ्ग र फ्रन्ट अफिस जस्ता विषयहरुमा अप्रेण्टिसिप मोडलमा निःशुल्क सिपमुलक तालिम दिने कार्यक्रमका संयोजक प्रेमकुमार तामाङ्गले जानकारी दिनुभयो ।

काठमाडौँ विश्वविद्यालयका भिजिटिङ्ग प्रोफेसर डा.कुस्माकर भट्टले सिप विनाको काम अब उपयोगी छैन्, सिप विकासका लागि सार्वजनिक निजी, सहकार्य आवश्यक छ -भन्नुभयो ।

सौराहामा पर्यटन विकास भएको तर दक्ष जनशक्ति नुहदाँ धेरै समस्या आउने गरेको क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलियाको भनाइ थियो ।

यसैगरी रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले ६ महिने तालिमबाट उत्पादित जनशक्तिले सौराहामै रोजगारी पाउने बताउनुभयो ।

सेन्टरले उद्योग र तालिम केन्द्रमा गरी ६ महिनासम्म दिने निःशुल्क तालिममा १६ देखि ४० बर्ष उमेर समुहका वेरोजगार मानिसहरुलाई सिपसहितको तालिमबाट अब्बल बनाउनेछ ।

पहिलो र दोश्रो चरणमा गरी यहाँ ८० जनालाई तालिम दिइने परियोजनाले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.