लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’
काठमाडौं- काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ का कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै आठ महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको हो ।
कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले विमानस्थल बन्द गर्दा विदेशी पर्यटक नेपाल घुम्न आउन पाएनन् । घुम्न आएका पर्यटकलाई पनि सम्बन्धित देशले जहाज चार्टड गरेर आफ्नै देशमा फर्काउँदा ठमेल क्षेत्र सुनसान बन्न पुगेको थियो ।
अहिले ठमेल क्षेत्र खुलेसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोभिड–१९ का कारण उक्त कार्यक्रम स्थगित भएको थियो ।
बन्दाबन्दी अगाडि ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने प्रत्येक दिन खचाखच नै हुन्थे । अझ शुक्रबार र शनिबार थप चहलपहल हुँदै आएको थियो । व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवा पुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनःव्यावसायिक बाटोमा आउने पर्खाइमा छन् । ठमेल क्षेत्रमा छ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन् ।
यहाँका ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुन्छ । ठमेल विकास परिषद्ले यस क्षेत्रका व्यवसायीलाई यहाँबाट विस्थापित हुन नदिन ठमेलका घर धनीसँग छलफल गरेर घरभाडामा ५० प्रतिशत सहुलियतको व्यवस्था मिलाएको छ । ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटल रहेका छन् ।-
प्रतिक्रिया राख्नुहोस्