सियो र जिम्बू बेच्न निस्कनै सकेनन् मुस्ताङी
मुस्ताङ- हरेक वर्षको हिउँदे महिनामा चिसो छल्न बेंसी झर्ने गरेका मुस्ताङीलाई यसवर्ष भने कोरोना भाइरसले रोकिदिएको छ ।
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण हिमालपारीको जिल्ला मुस्ताङका स्थानीयवासी यसवर्ष चिसो छल्न बेंसी झर्न पाएनन् ।
कोडिभ–१९ संक्रमणको जोखिमका कारण बेंसी झर्न नसकेका मुस्ताङीहरुलाई यसपटक बढ्दो चिसोमा पनि मुस्ताङमै बस्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
विगतका वर्षहरुमा कार्तिक महिनाको सुरुआतसँगै चिसो छल्न मुस्ताङीहरु न्यानो क्षेत्रतर्फ लाग्ने गरेका थिए । तर यसवर्ष भने मंसिरको दोस्रो हप्ता बितिसक्दा पनि कोरोनाका डरले उनीहरु आफ्नो क्षेत्रबाट बाहिर निस्कन पाएका छैनन् ।
जाडोको समयमा उपल्लो मुस्ताङको अधिकांश क्षेत्रहरु पुरै खाली हुने र तल्लो भेगमा पनि न्युन मात्रामा स्थानीयहरु बस्ने गरेको विगतमा यसवर्ष कोरोनाले पुरै रोकिदिएको छ ।
कार्तिकदेखि बेँसी झरेर मुस्ताङीहरु फागुन, चैतमा पुनः मुस्ताङ फर्किने गर्दथे ।
यो वर्ष कोरोना भाइरसको संक्रमणको जोखिमले स्थानीय आफ्नो पुरानो थलो नछाड्ने मनस्थितिमा पुगेका हुन । विगतका वर्षहरुमा यो समयसम्म आइपुग्दा उपल्लो मुस्ताङमा १० प्रतिशतको हाराहारी मात्रै स्थानीय हुने गरेका थिए । तीमध्ये पनि वृद्धवृद्धा, भेडा गोठाला र घर कुरुवा मात्रै बस्थे ।
लामो समयसम्म कोरोना संक्रमणको हिसाबले हेर्ने हो भने गण्डकी प्रदेशमा मुस्ताङ ‘ग्रीन जोन’मा परेको थियो । तर पछिल्लो तथ्याङ्कअनुसार मुस्ताङमा पनि कोरोना भाइरसका संक्रमितहरु बढेका छन् ।
जोखिमकै बीचमा चिसो छल्न पोखरा तथा काठमाडौंमा घर हुनेहरुबाहेक अन्य स्थानीयवासी बेंसी नझरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिनुभयो ।
अहिले मुस्ताङको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ भने जोमसोममा माइनस ७ र उपल्लो मुस्ताङमा माइनस ११ डिग्री सेल्सियसमा तापक्रम झरेको उहाँले बताउनुभयो ।
मुस्ताङमा गएको असोज अन्तिम सातादेखि नै चिसो बढ्न सुरु भएको थियो ।
यसैगरी उपल्लो मुस्ताङको विभिन्न विद्यालयका विद्यार्थीहरुलाई विगतका वर्षमा घुम्ती विद्यालयमार्फत पोखरा लगेर पढाउने गरिएको भए पनि यसवर्ष कोरोना भाइरसकै कारण उनीहरुलाई पोखरा लैजान सकिएन ।
हिमाली जिल्लामा पर्ने मुस्ताङमा फागुन महिनादेखि शैक्षिक सत्र सुरु भएर मंसिरमा सकिन्छ । तर यसपटक भने कोरोना भाइरसको जोखिम तथा लामो समयसम्म भएको लकडाउनले पनि शैक्षिक क्षेत्रलाई असर गर्यो ।
उपल्लो र मध्य मुस्ताङका स्थानीय प्राचीन समयदेखि नै गधा, घोडा र खच्चड धपाउँदै बालबच्चासहित हिउँदमा बेंसीका जिल्लाहरु म्याग्दी, पर्वत, कास्की, तनहुँ र चितवन हुँदै भारतसम्म पुग्ने गर्दथे ।
विभिन्न वस्तीमा पुगेर घुम्ती व्यापार गर्ने र भारतसम्मै पुगेरै थोक व्यापारसम्म गर्ने मुस्ताङीहरु फागुन तथा चैत महिनापछि मात्रै तीनै गधा, घोडा र खच्चडमा खाद्यान्न बोकाएर घर फर्किन्थे ।
यसवर्ष भने कोरोना भाइरस संक्रमणको जोखिमले गर्दा जिल्ला बाहिर जान नसकिएको उपल्लो मुस्ताङको चराङकी स्थानीय माया बिष्टले गुनासो गर्नुभयो ।
यसरी घुम्ती व्यापार तथा बेंसी झर्ने मुस्ताङीहरुले नेपालको विभिन्न जिल्लासहित भारतको बनारस, आसाम, नागाल्याण्ड, सिमला पुगेर स्वीटर, टाउजर, जिम्बु, सिद्रा, सियो, लसुन, धागोजस्ता चिज तथा बस्तु बिक्री वितरण गर्ने गर्दछन् ।
उनीहरुले यस अवधिमा मुस्ताङमा निर्माण गरिएको घरेलु र चिनिया सामान बिक्री गर्नुका साथै पुरानोले नयाँ सामानहरु समेत साँटासाँट तथा खरिद बिक्री गर्थे । तर यसपटक कोरोनाका कारण अन्तर्राष्ट्रिय सिमा नाका बन्द हुँदा मुस्ताङ–तिब्बतबीच व्यापार मेला हुन सकेन भने चिसो छल्न बेंसी झर्न नपाउँदा स्थानीय समस्यामा परेका छन् ।।
प्रतिक्रिया राख्नुहोस्