भक्तपुर–नगरकोट सडक चालु आवभित्रै सक्ने लक्ष्य

भक्तपुर- लामो समयदेखि अवरुद्ध भक्तपुर–नगरकोट सडक निर्माणले पछिल्लो समय गति लिएको छ । सो सडक चालु आवभित्रै सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ । विसं २०७०-७१ मा सो सडक निर्माणको ठेक्का सम्झौता भएको थियो ।

१५ किमी सडकमध्ये सात किमी सडकको निर्माण सम्पन्न भएको र एक किमी सडक सम्पन्न हुने क्रममा रहेको भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो । उहाँका अनुसार बाँकी सात किमी सडकको पनि कालोपत्र गर्ने तयारी भएको छ ।

आगामी पुससम्म सक्ने गरी पछिल्लो पटक अवधि थप भएको थियो । कोभिड–१९ का कारण निर्माण कार्य हुन सकेको थिएन । निर्माण कार्यमा बाधा पुगेकाले ठेक्का सम्झौता छ महिना थप्ने निर्णय सरकारले गरेको थियो । अहिलेको गतिमा काम हुँदा छ महिना पनि लाग्दैन ।

नगरकोटको माथिल्लो क्षेत्रमा चिसोका कारण काम गर्न कठीनाइ भएकाले अहिले तल्लो क्षेत्रमा निर्माण भइरहेको प्रमुख प्रजापतिले जानकारी दिनुभयो । जाडो केही कम भएपछि मात्रै नगरकोट क्षेत्रमा निर्माणको काम हुनेछ । अहिले खरिपाटी चौकी क्षेत्रमा काम भइरहेको छ ।

सो सडकको चौडाइ जम्मा आठ किमी रहेको छ । सात किमी सडकमा कालोपत्र गरिने र एक किमीमा पानी बग्ने गरी पूर्वाधार निर्माण भएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो । सडकको अधिकार क्षेत्र (राइट अफ वो) मा रहेका संरचना हटाउन समस्या हुँदा पनि विगतमा निर्माणमा बाधा पुगेको उहाँको भनाइ छ ।

वन क्षेत्रमा रुख कटानका लागि सरोकारवाला निकायसँगको समन्वयमा समस्या देखिएको थियो । पछिल्लो समयमा यो समस्या समाधान भइसकेको छ । सात वर्ष पहिले निर्माण शुरु भएको सो सडक समयमा नसकिएपछि चार पटकसम्म अवधि थप भइसकेको छ ।

पछिल्लो पटक सरकारले सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधनअनुसार गत वर्ष एक वर्षका लागि अवधि थपेको थियो । कोभिडका कारण निर्माण हुन नसकेको भन्दै निर्माण व्यवसायीले निवेदन दिएकोमा अहिले थप हुँदा पाँच पटक अवधि थप हुनेछ ।

सडक विभागले अरु कारणले काममा बाधा पुगे पनि निर्माण व्यावसायीकै लापरवाहीका कारण ढिलाइ भएमा जरिवाना गराउने प्रावधान छ । सोही व्यवस्थाका आधारमा निर्माण कम्पनीलाई रु तीन करोड ५० लाख जरिवाना गरिएको प्रमुख प्रजापतिले बताउनुभयो ।

सो सडक जम्मा रु ३५ करोडमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । अहिलेसम्म रु आठ करोड भुक्तानी भइसकेको र बाँकी सात करोड पनि काम भएपछि भुक्तानी गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । भारतको एक्जिम बैंक र सैलुङ निर्माण कम्पनीले सडक निर्माणको काम गरिरहेका छन् । निर्माण शुरु भएको लामो समयसम्म पनि सम्पन्न नहुँदा स्थानीयवासीसँगै नगरकोट घुम्न पुग्ने पर्यटकले समेत कष्ठकर यात्रा गर्नुपरेको थियो ।

भक्तपुर–नगरकोट सडकखण्ड अस्तव्यस्त बन्दै गएपछि सडकमा ग्राभेल उम्किँदै गएपछि खाल्डाखुल्डी बढ्दै गएको स्थानीयवासीको भनाइ छ । उकालो सडकमा खाल्डाखुल्डी हुँदा सडक दुर्घटनाको जोखिम पनि उच्च रहेको उनीहरुको भनाइ छ । सडकमा ढिलाइ भएको भन्दै स्थानीयवासीले पटक–पटक विरोध पनि गरेका थिए ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.