दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटीमा पेस गर्ने नेकपा सचिवालय बैठकको निर्णय
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको अलग अलग प्रस्ताव स्थायी कमिटीमा पेस हुने भएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले आइतबार दिउँसो १ बजे बस्ने बैठकमा दुवै प्रस्ताव पेस गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ‘उक्त बैठकमा नै अब पार्टीको संकट र त्यसको निवारणका लागि निष्कर्ष निकालिनेछ,’ उहाँले भन्नुभयो, ‘दुवै प्रस्तावहरु स्थायी कमिटीमा पेस गरेर छलफल हुनेछ ।’
स्थायी कमिटी बैठक आइतबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ ।
मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको लिखित पत्रहरु स्थायी कमिटी बैठकको एजेन्डा हुने निश्चित भएको हो ।
प्रवक्ता श्रेष्ठले दुई अध्यक्षबीच शनिबार पार्टीको समस्या समाधानका लागि बैठक बसे पनि निष्कर्षमा पुग्न नसकिएको बताउनुभयो । ‘उहाँहरुको बीचमा छलफल भयो, छलफल स्वभाविकरुपमा पार्टीको समस्या र समाधानमा केन्द्रित थियो, निष्कर्ष निकाल्न सम्भव थिएन,’ उहाँको भनाइ थियो, ‘तर छलफलको प्रक्रिया पनि अगाडि बढ्नेछ ।’
स्थायी समितिको बीचमा पनि सचिवालयको औपचारिक अनौपचारिक बैठक बस्ने प्रवक्ता श्रेष्ठको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्