गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सम्पन्न गर्न पर्यटनमन्त्रीको निर्देशन

भैरहवा- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिनुभएको छ ।

हिजो विमानस्थलको स्थलगत निरीक्षणपश्चात मन्त्री भट्टराईले भन्नुभयो, “तपाईँहरुलाई २५ दिनको ‘होमवर्क’ दिन्छु । आयोजना प्रमुख र निर्माण व्यवसायी दुवैले २५ दिनपछि मलाई जवाफ दिनुपर्छ, काम सकाउनुपर्छ ।”

उहाँले निकट भविष्यमा गौतमबुद्ध विमानस्थल सम्पन्न भएर राष्ट्रिय आयोजनामा एक नम्बर हुने पनि विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विगतमा ‘ब्याक’ भएको आयोजना सम्पन्न हुँदैछ ।”

उहाँले कोरोनाका कारण काममा प्रभाव परेको बताउँदै उपकरण जडानका लागि आवश्यक केही विदेशी दक्ष जनशक्ति नेपाल ल्याउन सबै प्रयास गरिरहेको पनि बताउनुभयो ।

आयोजना प्रमुख प्रवेश अधिकारीले आयोजनाको काम ९२ प्रतिशत सकिसकेको भन्दै बाँकी काम विदेशमा रहेका जनशक्ति नआउँदा रोकिएको बताउनुभयो । उहाँले लकडाउनको समयमा पनि सिभिल काम निरन्तर भइरहेको बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.