म्याग्दीको सुन्तलामा किरा र रोगको प्रकोप

म्याग्दी- विगतका वर्षहरुको तुलनामा यसवर्ष हिमाली जिल्ला म्याग्दीमा सुन्तलाको उत्पादन घट्ने भएको छ ।

अनुकुल मौसम नहुनु, सुन्तला पाक्ने समयमा चाइनिज सिडरस फुड फ्लाई (औंसा) नामक किराको प्रकोप फैलिनु जस्ता कारणले सुन्तला उत्पादनमा कमी आउने देखिएको हो ।

सुन्तला पाक्ने क्रममा औंसा जातको किरा सुन्तलाको बोटमा लागेर दाना पहेंलो हुँदै झर्न थालेपछि किसानहरु चिन्तित भएका छन् ।

म्याग्दी जिल्लाको बेनी नगरपालिका–३, भकिम्लीको राखु, मरेक तथा ४ नम्बर वडा सिङ्गाको बास्कुना, सुर्केमेला, थामडाँडासहित मंगला र मालिका गाउँपालिकाको विभिन्न वडामा लगाइएको सुन्तला खेतीमा औंसा किराको प्रकोप देखिएको छ ।

रोग र किराको प्रकोपका कारणले गर्दा बोटमा लागेको दाना (फल) ठूलो भए पनि यसवर्ष विगतको तुलनामा सुन्तला उत्पादन घट्ने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

सुन्तलाको बोटमा औंसा किरा लागेका कारण यसपटक २० देखि २५ प्रतिशतसम्म सुन्तला उत्पादन घट्ने ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिनुभयो ।

सुन्तलामा रोग किराको प्रकोप देखिएपछि आफूले स्थलगत रुपमा अनुगमन गर्नुका साथै किसानहरुलाई तालिम दिएको बताउँदै उहाँले किरा लागेर झरेको दानालाई सङ्कलन गर्न प्लाष्टिक दिएर सहयोग गरिएको बताउनुभयो ।

औंसा किरा जुनारपछि सुन्तला खेतीमा लागेको हुँदा झरेका सुन्तला सङ्कलन गरी व्यवस्थापन गर्न किसानहरुलाई आग्रह गरिएको छ ।

रोग, किराको प्रकोप तथा यसवर्ष अत्यधिक वर्षाका कारण गुणस्तरमा कमी आएको हुँदा सुन्तला उत्पादन घट्ने कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो । रोग एवं किराको उपचार गर्न आगामी दिनमा सुन्तला उत्पादक किसानहरुको बगैंचा र बोटमा प्रोटिन बेट (खाद्य पासो) थापेर औंसा किरालाई नियन्त्रण गरिने उहाँको भनाइ छ ।

पाक्न लागेको समयमा बोटमा औंसा किरा लागेर सुन्तला झर्न थालेपछि आफूहरु समस्यामा परेको बास्कुनाका अगुवा कृषक तिलक गुरुङले गुनासो गर्नुभयो ।

किरा लागेको सुन्तला टिप्दै किसान

उहाँले बास्कुना, सुर्केमेला र थामडाँडा क्षेत्रमा मात्रै ७० घरधुरीले २० हजार बोट सुन्तला लगाएको बताउँदै तीमध्ये ७ हजार बोटमा दाना लागे पनि यसपटक रोग किराको प्रकोपले उत्पादन घट्ने जानकारी दिनुभयो । गतवर्ष बास्कुना–सुर्केमेला र थामडाँडाका किसानहरुले सुन्तला बिक्रीबाट ४० लाख रुपैयाँ गाउँमा भित्र्याएको कृषक गुरुङले बताउनुभयो ।

बास्कुना क्षेत्रमा उत्पादित सुन्तला बास्कुना कृषि सहकारीमार्फत बिक्री वितरणको व्यवस्था मिलाइएको छ ।

प्रतिकेजी ६५ रुपैयाँ मूल्य तोकिएको सुन्तला बिक्रीबाट उत्पादनको २ प्रतिशत रकम सहकारीलाई दिइने अध्यक्ष गुरुङको भनाइ छ ।

यसपटक बास्कुनामा ‘ए’ र ‘बि’ ग्रेडका मात्रै सुन्तला रहेका छन् । नबलपरासी, कास्कीलगायत जिल्लाबाट सुन्तला खरिद गर्न ठेकेदारहरुले सम्पर्क गरेर बोटमै आउने गरेको किसानहरु बताउँछन् । म्याग्दीका अधिकांश कृषकहरुले सुन्तला ठेक्कामा बेच्दै आएका छन् ।

गएको आर्थिक वर्षसम्म म्याग्दीमा कुल ७ सय ६ हेक्टर क्षेत्रफलको जमिनमा सुन्तला खेती गरिएकोमा त्यसमध्ये ३ सय ३५ हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिएको थियो ।

गतवर्ष २ हजार ४ सय १२ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा वार्षिक ७ दशमलव २ प्रतिशत उत्पादकत्व रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यसवर्ष थप २४ हेक्टरको जमिनमा सुन्तला खेती विस्तार गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

म्याग्दी जिल्लामा स्थानीय (लोकल) जातको सुन्तला लगाउने गरिएको छ ।

जिल्लाको भकिम्ली, सिङ्गा, ताकम, विम, देवीस्थान, मुदी, मराङ, बेगखोला, बराङ्जा, दाना, नारच्याङ, भूरुङ–तातोपानी, दोवा, घार, घतान, पात्लेखेत, राखुभगवती र पिप्ले सुन्तला उत्पादनका हिसाबले पकेट क्षेत्र मानिन्छन् ।

म्याग्दीमा उत्पादित सुन्तलाको बजार सदरमुकाम बेनीबजार हुँदै पर्वत, बागलुङ, पोखरा, नारायणगढ, बुटवल र काठमाडौंसम्म पुग्ने गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.