गोरखाको मनकामना मन्दिर र केबुलकार आजबाट खुला

गोरखा- गोरखाको प्रसिद्व धार्मिक तिर्थस्थल एवं नेपालकै पहिलो केबुलकार आजबाट सञ्चालनमा आएको छ ।

नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण चैत्र ८ गतेदेखि बन्द भएको मनकामना मन्दिर केबुलकार एकै दिनमा खुल्ला गरिएको हो ।

मनकामना क्षेत्र विकास समितिको अघिल्लो साता बसेको बैठकले आवश्यक आधारभूत कार्यविधि तयार पार्दै भक्तजनहरुको स्वास्थ्य मापदण्ड पालना गराउने गरी आइतबार (मंसिर २८ गते) देखि मनकामना मन्दिर सञ्चालनमा ल्याउने निर्णय गरिएको समितिका अध्यक्ष रामकुमार जोशीले बताउनुभयो ।

‘लामो समय देखि पूजाआजा रोकिँदा हिन्दू धर्मालम्बीहरुलाई पनि समस्या भएको र मन्दिरमा आश्रित भएर जिबिका चलाउनेहरुलाई समेत समस्या आएपछि आवश्यक सुरक्षा ब्यवस्था अपनाएर मन्दिर सञ्चालनमा ल्याइएको’ अध्यक्ष जोशीले भन्नुभयो ।

मन्दिर सञ्चालनमा ल्याउन मनकामनामा मुल पुजारी इन्सानबहादुर थापा समेत सहमत हुनुभएको थियो । थापाले पुजा र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर भित्रै प्रवेश गरेर पुजा गर्न र बलि दिने स्थानसम्म पुग्न प्रतिबन्ध लगाएर मन्दिर सञ्चालनमा ल्याउन लागिएको बताउनुभयो ।

‘पहिलो चरणमा हामी मन्दिरमा पुजारी बाहेक अरु कसैलाई पनि प्रवेश दिँदैनौ । भक्तजनका लागि भनेर मन्दिरको पश्चिमतर्फका झ्याल र मुलद्वार सँगै रहेको देब्रे तर्फको झ्याल खुल्ला गरेर बाहिरबाटै पुजा लिनेदिने ब्यवस्था गरिएको’ पुजारी थापाले भन्नुभयो ।

बलीका बिषयमा क्षेत्र बिकास समिति र मन्दिरका पुजारीबिच विवाद भएता पनि अहिलेका लागि बलिदिने स्थानमा नै एक जना पुजारीको ब्यवस्था गरेर संकल्पको लागि ब्यवस्था मिलाएइको पनि पुजारी थापाले जानकारी दिनुभयो ।

यता मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै केबुलकार आजदेखि सञ्चालनमा आएको र पहिलो चरणमा आधा क्षमतामा मात्र सञ्चालन गरिने जनाएको छ ।

अब केबुलकारमा यात्रा गर्ने जो कोहीले पनि कडा सुरक्षा चेकजाँचपछि मात्र प्रवेश पाउने छन् ।

‘हामीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै केबुलकार सञ्चालनमा ल्याउने निर्णय गरेका हौं’ – सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार १०० डिग्री फरेनहाइट ज्वरो देखिएमा, रुघाखोकीको लक्ष्यण देखिएका कुनै पनि यात्रुलाई केबुलकार यात्रामा प्रतिबन्ध लगाइएको छ । यात्रुले लाइनमा बस्दा भौतिक दुरी, केबुलकार प्रवेश गर्नासाथै स्वचालित ह्याण्ड स्यानिटाइजर वा साबुनपानीले हात धुनुपर्ने ब्यवस्था गरिएको छ । साथै भिडभाड गर्न, बनभोज खान समेत मनकामना दर्शन प्रालिले यात्रुलाई प्रतिबन्ध लगाएको छ ।

केबुलकारमा प्रति घण्टा ६६० जना यात्रुले यात्रा गर्न सक्ने भएता पनि केही समयका लागि ३३० जनाले मात्र यात्रा गर्न पाउने छन् ।

स्वास्थ्य सुरक्षालाई विशेष महत्व दिएको केबुलकार प्रशासनले आफ्नो कर्मचारीलाई फेस शिल्ड र माक्स जस्ता सुरक्षा सामाग्रीको प्रबन्ध गरेको छ ।

केबुलकार परिसर भित्रै रहेको रेष्टुरेन्ट भने पौष ३ गते देखि मात्र सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ ।

मनकामना मन्दिर र केबुलकार चैत्र ८ गते देखि बन्द गरिएको थियो ।

मन्दिर र केबुलकार २६७ दिन पछि मात्र सञ्चालनमा आएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.