म्याग्दीमा यसवर्ष दुई प्रतिशतले धान उत्पादन बढ्यो

म्याग्दी- गत वर्षको तुलनामा हिमाली जिल्ला म्याग्दीमा यसवर्ष २ प्रतिशतले धान उत्पादन बढेको छ । पर्याप्त वर्षा पर्नु, समयमै रोपाइँ हुनु, सिँचाइ सुविधा पुग्नु, जमिनको क्षेत्रफल विस्तार हुनु जस्ता कारणले प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा वृद्धि भएको हो ।

यसवर्ष कुल खेतीयोग्य जमिनको ३ हजार ९ सय २५ हेक्टर क्षेत्रफलको जमिनमा धान खेती गरिएकोमा १३ हजार ६ सय २६ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गतवर्ष ३ हजार ९ सय १ हेक्टरमा धान खेती गरिएकोमा १३ हजार ३ सय ६० दशमलव ८ मेट्रिक टन उत्पादन भएको थियो ।

गतवर्ष ३ दशमलव ४ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रहेकोमा यसवर्ष ३ दशमलव ५ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व वृद्धि भएको ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो ।

उहाँले जिल्लाको विभिन्न स्थानमा गएको बाढी, पहिरो तथा भू–क्षयका कारणले गर्दा अपेक्षा गरेअनुसार धान उत्पादन नभए पनि गत वर्षको तुलनामा भने यसवर्ष २ प्रतिशतले धानको उत्पादन बढेको जानकारी दिनुभयो ।

यसपटक गएको वैशाख जेठ महिनामै धान रोपाइँका लागि पर्याप्त वर्षा भएकाले किसानहरुले समयमै रोपाइँ गर्न पाएका थिए । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को कारण लकडाउनले फुर्सदिला भएका किसानहरुले बाँझो जमिनमा पनि रोपाइँ गरेको हुँदा धान उत्पादनको क्षेत्रफल विस्तार भएको तथ्याङ्कले देखाउँछ ।

कोरोना भाइरस तथा लकडाउनका कारण सहर–बजार तथा विदेश गएका युवा जनशक्ति गाउँ फर्किएकाले खेतीबाली लगाउने क्रममा सहज भएको किसानहरु बताउँछन् ।

यसवर्ष वर्षात्को समयमा अत्यधिक वर्षा परेका कारण बेनी नगरपालिका, मंगला, मालिका र धवलागिरि गाउँपालिकाको विभिन्न स्थानमा आएको बाढीपहिरो, भू–क्षय र कटानले खेतीयोग्य जमिन नष्ट गर्नुका साथै धान खेतीमा क्षति पुर्‍याएको थियो ।

कुल २ हजार २ सय ९७ वर्ग किलोमिटर क्षेत्रफल रहेको म्याग्दीमा ३० हजार ८ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेको छ ।

म्याग्दीमा गौरिया, जेठोबुडो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ«्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २, गुडुरा, दर्माली, आङा (कालो धान), झिनुवा जस्ता स्थानीय (लोकल) जातका धानहरु रोप्ने गरिएको छ ।

पछिल्लो समय जिल्लाको सीमित ठाउँमा किसानहरुले सुख्खा धान १, २, ३ नामक जात समेत रोप्न थालेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.