नेकपा केन्द्रीय कमिटी विस्तार, प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटीको तेस्रो बैठकले केन्द्रिय कमिटी विस्तार गरेको छ ।
मौजुदा केन्द्रीय कमिटीमा सदस्यहरु थप गरी एक हजार १९९ सदस्यीय बनाइएको छ । पार्टीका प्रथम अध्यक्षका हैसियतले प्रधानमन्त्री ओलीले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्नु भएको छ ।
नेकपाको मौजुदा केन्द्रीय कमिटीमा ४४७ रहेकामा ५५६ थप गर्ने प्रस्ताव पारित भएको र १९६ जना रिक्त राखिएको नेकपा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
मनोनीत सदस्यलाई अध्यक्ष ओलीले शपथसमेत गराउनुभएको छ । बैठकले पार्टी प्रवक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीलाई दिएको छ । बैठकलाई सम्वोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले विकसित राजनीतिक घटनाक्रम र अवको निर्वाचन तथा पार्टीको रणनीतिबारे विभिन्न निर्देशन दिनुभयो । उहाँले अव शबै शक्ति एकजुट भएर निर्वाचनमा जानुपर्ने बताउनुभयो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सुशासन र विकासको बाटोबाटै समृद्ध नेपालको उद्देश्य हासिल हुने पनि स्पष्ट पार्नुभयो ।
महासचिव विष्णुप्रसाद पौडेलले सञ्चालन र स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले स्वागत गर्नुभएको आजको बैठकले केन्द्रीय कमिटीको अर्को बैठक यही पुस ९ गते तय गरेको छ भने २०७८ मङ्सिर २ मा पार्टीको महाधिवेशन तोकेको छ ।
प्रतिक्रिया राख्नुहोस्