दाहाल–नेपाल समूहले निर्वाचन आयोगलाई बुझायो ज्ञापनपत्र

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिता र चुनाव चिह्न दाबी गर्दै दाहाल–नेपाल समूहले निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायत नेताको टोलीले आयोगमा पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई आज ज्ञापनपत्र बुझाएको हो । अध्यक्ष दाहालले नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमध्ये दुई तिहाइ अर्थात् २९५ जनाको दस्तखत आफ्ना पक्षमा रहेको जिकिर गर्दै दलको आधिकारिता र चुनाव चिह्न आफूले पाउनुपर्ने माग गर्नुभयो ।

आयोगले सबै केन्द्रीय सदस्यलाई बोलायो भने उपस्थित हुन तयार रहेको विश्वास दिलाउँदै दाहालले आधिकारिताका लागि त्यसभन्दा ठूलो अरू प्रमाण केही हुन सक्दैन भन्नुभयो ।

अर्का अध्यक्ष नेपालले पार्टीको आधिकारिकता र चुनाव चिह्नबारे कानून र विवेकसम्मत ढङ्गबाट निर्णयमा पुग्न आयोगलाई सुझाव दिनुभयो । सो अवसरमा प्रमुख आयुक्त थपलियाले संविधान र निर्वाचनसम्वन्धी कानूनमा व्यवस्था भएअनुरुप विवाद निरुपणको प्रक्रिया प्रारम्भ हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विधान, स्थापित नजीर र प्रचलित कानूनका आधार आधारमा ऐनले दिएको अधिकार क्षेत्रभित्र रही अत्यन्तै न्याय हुने ढङ्गबाट आयोगले न्याय निरुपण गर्नेछ ।” प्रमुख आयुक्तसँगको छलफलपछि आवश्यक प्रमाणसँगै आधिकारिकताको दावी प्रस्तुत गरिएको जानकारी पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभयो ।

निर्वाचन आयोगमा जानु अघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल सहितका शीर्ष नेता, केन्द्रीय सदस्य तथा सांसदहरु माइतीघर मण्डलामा भेला हुनु भएको थियो। माइतीघर मण्डलाबाट जुलुस सहितको टोली निर्वाचन आयोगमा गएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.