प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् हेरफेर र विस्तार
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषदमा नौ सदस्य नयाँ थप गर्नुभएको छ भने केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । पार्टीभित्रको विवादका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही मन्त्रीले राजीनामा दिएपछि रिक्त मन्त्रालय र अन्य मन्त्रालयमा सोही पार्टीका तर्फबाट नयाँ नियुक्ति तथा हेरफेर भएको हो ।
प्रधानमन्त्रीले आज विस्तार गर्नुभएको मन्त्रिपरिषदमा अधिकांश नयाँ अनुहार समेटिनुभएको छ । केही मन्त्री भने यसअघि पनि राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएका टोपबहादुर रायमाझीले यसअघि पनि उपप्रधानमन्त्रीसहित सोही मन्त्रालय सम्हाल्नुभएको थियो । संविधान निर्माण लगत्तै विसं २०७२ मा वर्तमान प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा रायमाझीले सो मन्त्रालय सम्हाल्दा ऊर्जा, सङ्कटकालीन कार्ययोजना ल्याएर नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा नयाँ आयामको शुरुआत गर्नुभएको थियो । कूल ९९ बुँदे सो कार्ययोजनाको आधारमा नै विद्युत्भार कटौतीलगायतका योजना अगाडि बढेका थिए । विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा अर्घाखाँचीबाट ५० हजार ८३७ मतसहित निर्वाचित हुनुभएका रायमाझी दोस्रो पटक ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्न लाग्नुभएको हो ।
शहरी विकास मन्त्रालयमा प्रभु साहको पनि दोस्रो कार्यकाल हो । तीन पटक सांसद र संसदीय समितिको सभापति रहिसक्नुभएका साहले यसअघि नै कानून न्याय तथा संसदीय मामिला, भूमिसुधार र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । खानेपानी मन्त्रीको जिम्मेवारी सम्हाल्न लाग्नुभएका मणिचन्द्र थापा पहिलो पटक राजकीय जिम्मेवारीमा आउनुभएको हो । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा गीत सङ्गीतमार्फत योगदान गर्नुभएका नेता थापा नेकपा भित्र बौद्धिक नेताका रुपमा चिनिनुहुन्छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी पनि दोस्रो पटक मन्त्री बन्नुभएको छ । यसअघि पनि उहाँले कृषि विकास मन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाको सांसद हुनुहुन्थ्यो । दार्चुलाबाट राष्ट्रिय राजनीतिमा स्थापित हुनुभएका ठगुन्नालाई कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको क्षेत्रको राम्रो ज्ञान रहेको छ ।
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले पनि नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद हुनुहुन्छ । डोटी जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने आलेलाई नेकपाभित्र निडर नेताका रुपमा लिइन्छ । विसं २०७४ को निर्वाचनमा नवनियुक्त मन्त्री आलेले ३२ हजार ५१० मत प्राप्त गरी विजयी हुनु भएको थियो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो पनि पहिलो पटक राजकीय जिम्मेवारी सम्हाल्न लाग्नुभएको हो । त्यस्तै युवा तथा खेलकूद मन्त्रीको जिम्मेवारी सम्हाल्न लाग्नुभएका दावा लामा पनि पहिलो पटक मन्त्रिपरिषदमा समेटिनुभएको छ । विसं २०६४ को संविधानसभा सदस्य रहनुभएका लामा २०७४ मा भएको प्रदेशसभा सदस्यको निर्वाचनमा भने पराजित हुनुभएको थियो ।
जिम्मेवारी हेरेफेर
नयाँ जिम्मेवारी पाएका मन्त्रीमा स्वास्थ्य तथा जनसङ्ख्यामा हृदयेश त्रिपाठी, शिक्षा, विज्ञान तथा प्रविधिमा कृष्णगोपाल श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमा भानुभक्त ढकाल, कृषि तथा पशुपक्षीमा पद्माकुमारी अर्याल, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमा डा शिवमाया तुम्बाहाङ्फे र न्याय, कानून तथा संसदीय मामिलामा लीलानाथ श्रेष्ठ रहनुभएको छ ।
बिक र दुगडलाई बिदा
युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई बिदा गरिएको छ ।
१. श्री केपी शर्मा ओली प्रधानमन्त्री रक्षा
२. श्री ईश्वर पोखरेल उपप्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
३. श्री रामबहादुर थापा मन्त्री गृह
४. श्री टोपबहादुर रायमाझी मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई
५. श्री विष्णुप्रसाद पौडेल मन्त्री अर्थ
६. श्री प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्ट्र
७. श्री हृदयेश त्रिपाठी मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
८. श्री लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
९. श्री कृष्णगोपाल श्रेष्ठ मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
१०. श्री प्रभु साह मन्त्री सहरी विकास
११. श्री भानुभक्त ढकाल मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१२. श्री मणिचन्द्र थापा मन्त्री खानेपानी
१३. श्री पद्माकुमारी अर्याल मन्त्री कृषि तथा पशुपन्छी विकास
१४. श्री वसन्तकुमार नेम्वाङ्ग मन्त्री भौतिक पूर्वाधार तथा यातायात
१५. श्री गौरीशंकर चौधरी मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१६. श्री पार्वत गुरुङ मन्त्री सञ्चार तथा सूचना प्रविधि
१७. डा. शिवमाया तुम्बाहाङफे मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१८. श्री लिलानाथ श्रेष्ठ मन्त्री कानून, न्याय तथा संसदीय मामिला
१८. श्री गणेशसिंह ठगुन्ना मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
२०. श्री प्रेमबहादुर आले मन्त्री वन तथा वातावरण
२१. श्री जुलीकुमारी महतो मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
२२. श्री दावा लामा तामाङ मन्त्री युवा तथा खेलकुद
२३. श्री नवराज रावत राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
२४. श्री रामबिर मानन्धर राज्यमन्त्री सहरी विकास
२५. श्री विमला वि.क. राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
प्रतिक्रिया राख्नुहोस्