ड्रमको सहारामा कर्णाली नदीमा जीप तारेर पालिका पुर्याइयो
बाजुरा- जिल्लाको उत्तरपूर्वी भेगमा अवस्थित स्वामीकार्तिक गाउँपालिकामा कर्णाली नदीमा ड्रमको सहायताले जीपलाई पुर्याइएको छ ।
दुर्गम तथा विकट स्वामीकार्तिक गाउँपालिकाको आर्थिक सहयोगमा नदीमा ड्रमको सहारामा जीपलाई तारेर गाउँपालिकामा पुर्याइएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका तीन वडामा सडक पुगेकाले यातायातका साधन नहुँदा हिँडेर नै सेवा लिन आउने नागरिकलाई सहजताका लागि यातायात सञ्चालन गर्ने गरी जीपलाई ड्रममा राखी चढाएर नदीमा तारिएको हो ।
स्थानीय तहको निर्वाचन भएको तीन वर्ष बितिसक्दा समेत गाउँपालिकामा हालसम्म सवारी साधन पुग्न सकेको छैन । कर्णालीपारिको एक मात्र गाउँपालिकामा हालसम्म यातायात पुग्न नसकेको र त्यहाँका जनताले निकै सास्ती भोगेको समस्यालाई मध्यनजर गरी कर्णाली नदीमा ड्रमहरूमा जीपलाई चढाएर पारि तारिएको हो ।
गाउँपालिकाका पाँच वडामध्ये तीन वडामा सडक सञ्जालले जोडिएको छ । साविकको वाई र जुकोट गाविसमा सडक निर्माण भइसकेको र साविकको साप्पाटा गाविस जाने सडक निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । शनिबार सु प प्र ००१ च २९४६ नम्बरको जीपलाई स्थानीयवासीले स्वागत गरेका थिए ।
स्वामीकार्तिक गाउँपालिका पूर्वमा कालिकोट र मुगु जिल्ला, पश्चिममा जगन्नाथ गाउँपालिका, उत्तरमा हिमाली गाउँपालिका तथा दक्षिणमा कालिकोट जिल्लासँग जोडिएको छ । गाउँपालिकाको जनसङ्ख्या दुई हजार ४४२ घरधुरीमा १४ हजार ९०९ रहेको छ । गाउँपालिका साविकको साप्पाटा बस्ती लौठी, उपरगाउँदेखि साविकको वाई गाविसको मिगु अति दुर्गमका बस्ती हुन् ।-
प्रतिक्रिया राख्नुहोस्