काकाकुल कालापानीमा सुनकोशीको पानी (भिडियो रिपोर्ट)

खोटाङ- पानीको हाहाकार भएको खोटाङको खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चेस्थित कालापानीमा सुनकोसीको पानी निकालिएपछि स्थानीयमा खुशियाली छाएको छ ।

नेपाल सरकार खानेपानी तथा सरसफाई मन्त्रालयको अनुदान तथा उपभोक्ताको ३६ लाख रुपैयाँ बराबरको श्रमदान गरी करिब १ करोड ८० लाखमा रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम सम्पन्न भएपछि बिशेषगरी स्थानीय महिलामा खुशियाली छाएको हो ।

विद्युतमार्फत सञ्चालन हुने पम्पिङ प्रविधि अपनाएर सुनकोसीको रसुवाघाटबाट करिब १८ सय मिटरमाथि रहेको कालापानी गाउँमा पानी निकालिएपछि ६२ घरधुरीका महिलाहरुले वर्षौंदेखि खेप्दै आएका सास्ती हटेको भन्दै हर्ष ब्यक्त गरेका छन् ।

नदीको पानी आँगनको धारामा आइपुग्दा घण्टौं समय लगाएर कोशी वा खोलाको पानी ल्याउनुपर्ने वाध्यता हटेकोले खुशीको सिमा नरहेको स्थानीय महिलाहरु सुनाउँछन् ।

लिफ्टीङ आयोजनाका लागि नदी किनारमा मेसिन राख्ने घर निर्माण गरेर पानी तान्ने बोरिङ उपकरण जडान गरिएको छ । जिल्लाकै पहिलो र ठूलो उक्त खानेपानी लिफ्टिङ आयोजना कांग्रेस महाधिवेशन प्रतिनिधि एवं दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईको पहलमा पाँच बर्ष अघि शुरु गरिएको थियो ।

बोरिङस्थलबाट विद्युतको सहायतामा पाईपमार्फत १०-१० हजार लिटर क्षमताको दुईवटा सप्लाई ट्याङ्कीमार्फत् सबैभन्दा माथि गाउँमा निर्माण गरिएको ३५ हजार लिटर क्षमताको ट्याङ्कीमा पानी जम्मा गरेर वितरणको व्यवस्था मिलाइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.