मेलमिलाप नीतिको आजको सान्दर्भिकता नै जनाधिकारको रक्षा हो : सभापति देउवा

काठमाडौं- वीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति प्रतिपादन गर्नु भएको पुस १६ गतेका अवसरमा नेपाली कांग्रेसले हरेक बर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ ।

यसै सन्दर्भमा आज ७७ जिल्लामा एकसाथ कार्यक्रम भइरहेका छन् । यही अवसरमा सूचना, संचार तथा प्रचार विभागले भर्चुअल माध्यममार्फत पार्टीको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नुभएको छ ।

सभापति देउवाले वीपी कोइरालाले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलाप आह्वान गर्दै स्वदेश फर्केर लिनुभएको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । “मेलमिलाप नीतिको मुल चुरो हिजो पनि जनता थिए, जनताको अधिकार र लोकतन्त्र थियो, आज पनि त्यही नै हाम्रो साझा र मुल बाटो हो”- देउवाले भन्नुभयो ।

वीपीले मेलमिलाप नीतिको केन्द्रमा नेपाली जनतालाई राख्नु भएको स्मरण गर्नुहुँदै सभापति देउवाले जनताको लोकतान्त्रिक हक अधिकार शान्तिपूर्ण ढंगले जनतालाई दिलाउन उहाँले लिएको नीतिकै जगमा २०४६ सालको परिवर्तन भएको उल्लेख गर्नुभयो ।

मेलमिलापको नीतिले राजालाई पनि ठिक ठाउँमा ल्याउन खोज्यो, तर प्रजातन्त्रलाई राजाले निरन्तर प्रहार गरिरहेपछि देशले गणतन्त्रको बाटो रोजेको सभापति देउवाको भनाइ थियो ।

वीपीले प्रतिपादन गर्नुभएको मेलमिलापको नीतिकै बाटोबाट गिरिजाप्रसाद कोइरालाले हतियार बोकेर हिँडेका माओवादीहरुलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु भएको उहाँले स्मरण गराउनुभयो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा गरिएको संसद विघटनको कार्यलाई नेपाली काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको र यसका विरुद्ध देशव्यापी प्रदर्शन भएको उहाँले बताउनुभयो ।

‘मेलमिलाप नीतिको आजको सान्दर्भिकता नै जनाधिकारको रक्षा हो’- देउवाले भन्नुभयो ।

सभापति देउवाले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सम्बर्धन गर्नु नै काँग्रेसको मुल अभिभारा भएको स्पष्ट पार्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.