रणनीतिका अभावमा अलमलमा परे कृषि योजना
बजेट छुट्याउने तर खर्च नहुने समस्यामा रुकुम पश्चिमका स्थानीय तह
रुकुम पश्चिम- संघ, प्रदेश र स्थानीय तहले कृषि क्षेत्रलाई प्राथमिकता दिने नीति लिएका छन् । सोही कारण संघदेखि स्थानीय तहसम्मले प्रत्येक वर्ष कृषिमा ठूलो बजेट विनियोजन गर्ने गरेका छन् ।
तर स्पष्ट रणनीतिको अभावमा रुकुम पश्चिमका स्थानीय सरकारहरुले विनियोजन गरेको कृषि क्षेत्रको बजेट समेत खर्च हुन सकेको छैन । बजेट भए पनि खर्च हुन नसकेको स्वीकार स्थानीय तहहरुले गर्ने गरे पनि रणनीतिको अभावमा खर्च हुन नसकेको मान्न भने उनीहरु तयार छैनन् ।
कृषि क्षेत्रका लागि विनियोजित बजेट कोरोना महामारीका कारण खर्च हुन नसकेको जिकिर स्थानीय तहहरुको छ ।
रुकुम पश्चिमको सानीभेरी गाँउपालिकाले गत आर्थिक बर्षमा कृषि क्षेत्रकै लागि भनेर संघीय सरकारबाट १० लाख र प्रदेश सरकारबाट करिव १८ लाख बजेट प्राप्त गर्यो । तर कोरोनाको कारण देखाउँदै सबै रकम खर्च गर्न सकेन ।
कृषकको प्रत्यक्ष सहभागिता जोडिएको साना सिंचाई निमार्ण तथा मर्मत सम्भारमा पाँच लाख रकम बिनियोजन गरिएकोमा पाँचै लाख खर्च भएको हो ।
केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत माटो परिक्षण, माटो सुधारका लागि सामाग्री र प्रबिधि बितरणमा दुई लाख बजेट बिनियोजन गरिएकोमा ९० हजार खर्च भएको सानी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपाल बिष्टले जानकारी दिनुभयो ।
यसैगरी भकारो सुधारमा संघीय सरकारको बजेट ३ लाख उपलब्ध भएकोमा दुई लाख बिस हजार खर्च गरिएको छ । जम्मा १० लाख बजेटमा ८ लाख १० हजार खर्च भएको र बाँकी एक लाख ९० हजार खर्च नभएको बिष्टको भनाइ छ ।
कोरोनाको कारण सबै लक्ष्य अनुसारकै काम हुन नसकेको उहाँले बताउनुभयो ।
यसैगरी प्रदेश सरकारले पनि खाद्य सुरक्षाको लागि उत्पादन बिशेष कार्यक्रममा १७ लाख ७७ हजार २२१ बजेट सानीभेरी गाँउपालिकालाई दिएको थियो । जसमध्य १५ लाख ५५ हजार १८६ खर्च भएको छ।
यो रकम खर्च नहुनुको मुख्य कारण कोरोना महामारी नभई कामको मुल्याङ्कन कम भएकोले कम भुक्तानी भएको दावी विष्टको छ ।
सानीभेरी गाँउपालिका समानिकरण अनुदान अन्तर्गत पुँजिगत, सघन बाली, तरकारी विकास आयोजना, फलफुल विकास आयोजना, बजार विकास, आर्थिक बिश्लेषण कार्यक्रममा ८ लाख बजेट बिनियोजन गरिएको थियो । जसमा ६ लाख ९५ हजार मात्र खर्च भएको छ ।
कोरोना महामारीका कारण बिभिन्न गोष्ठी, सेमीनार, तालिम, क्षमता विकासका कार्यक्रम गर्न नसकेको कारण खर्च हुन नसकेको सानीभरी गाँउपालिकाका कृषि अधिकृत महेन्द्र ओलीले जानकारी दिनुभयो ।
चालु आर्थिक बर्षमा गाँउपालिकाको समानिकरण अनुदान २५ लाख ५० हजार रकम बिनियोजन गरिएको गाँउपालिकाका अध्यक्ष नरबहादुर पुन बताउनुहुन्छ ।
चालु आर्थिक बर्षमा सघनबाली, तरकारी विकास आयोजना, फलफुल विकास आयोजना, मौरी पालन, च्याउ खेती बिस्तार, साना सिंचाई, माटो व्यवस्थापन तथा भकारो सुधार, मसला बाली विकास तथा बिभिन्न ताालिम,क्षमता विकास लगाएतका शिर्षकमा बजेट बिनियोजन गरिएको छ ।
तर हाल सम्म सघनबाली तर्फ र तरकारी विकास आयोजनामा मात्र आधा रकम खर्च भएको छ । सानीभेरी गाँउपालिकाले आगामी दिनमा जनताले प्रत्यक्ष लाभ पाउने गरी बजेट कार्यान्वन गर्न केही रणनिति बनाएर अगाडी बढ्ने गाँउपालिका अध्यक्ष पुनको भनाइ छ ।
समयमै सुचना तथा प्रचार प्रसारलाई ध्यान दिने, गाँउ गाँउमा प्राबिधिक पठाउने, समय समयमा उपभोक्ता कृषकहरुलाई सहजिकरण गर्ने तथा सार्वजनिक सुनुवाई गरी कामलाई दिगो बनाइने प्रमुख प्रशासकिय अधिकृत भुपाल बिष्टले जानकारी दिनुभयो ।
तर सो गाँउपालिकामा बजेट खर्च हुन नसकिरहेको बताइरहेका बेला कृषकले भने आफुहरुले सुबिधा नपाएको गुनासो गरेका छन् ।
स्थानीय कृषक भिउसन ओली पालिकाकाबाट अनुदानमा कृषिका लागि रकम पाइन्छ भनेर आफुले पालिकामा धाएको भएपनि कुनै सुबिधा नपाएको गुनासो गर्नुहुन्छ ।
ओलीले भन्नुभयो- “म पालिकामा धेरै पटक धाएँ तर कुनै सहजिकरण पाइन ।” उनीमात्र होइन सानीभेरी ३ कै सुरबहादुर पुनले पनि कृषिका लागि बजेट खर्च हुन नसक्दा सम्म आफुहरुले कृषिका लागि आफैले लगानी गरिरहनु परेको बताउनुभयो ।
उहाँले भन्नुभयो- “बिभिन्न शिर्षकमा बजेट खर्च हुन्छ र खर्च हुन नसकेको बजेट फ्रिज भइरहेको छ तर पाउनुपर्नेले सुबिधा पाइरहेको छैन ।”
यसको मुख्य कारण शिर्षकमा खर्च हुन सकेको बजेटलाई सहि सदुपयोग गर्नका लागी स्पष्ट रणनिति नभएको उनको बुझाइ छ ।
यस्तै त्रिबेणी गाँउपालिकाले कृषि क्षेत्रमा कोराना महामारीको बिचमा लक्ष्य अनुसार काम गर्न नसकिएको बताएको छ । गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले कोरोना महामारीको कारण भएको लकडाउनले कृषि क्षेत्रको उल्लेखनीय काम हुन नसकेको बताउनुभयो ।
गत आर्थिक बर्षमा त्रिबेणी गाँउपालिकाले बिभिन्न शिर्षकमा बजेट बिनियोजन गरी काम गरेको छ । कृषि उपकरण बितरण कार्यक्रम,मकै बिउ बितरण, कृषि प्रबिधि सम्बन्धी तालिम, तरकारी बिउ उत्पादन कार्यक्रम, फलफुल उत्पादन, मौरी पालन कार्यक्रम, भकारो सुधार कार्यक्रम, कृषक प्रोत्साहन, एक घर एक करेसाबारी कार्यक्रम, बनपैदावार तथा जडीबुटीजन्य पकेट ओखर बिरुवा बितरण, माटो परिक्षण कार्यक्रम र साना सिंचाई कार्यक्रम अन्र्तगत ५ लाख ५० हजार रकम बिनियोजन गरिएको थियो ।
त्रिबेणी गाँउपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तीका अनुसार कोरोना महामारीका कारण सबै कार्यक्रम गर्न सकिएको छैन । ती कार्यक्रम अन्र्तगत ३५ लाख ८० हजार खर्च भएको भएपनि केही महत्वपुर्ण कार्यक्रम भने त्रिबेणीले गर्न सकेको छैन ।
कृषि उपकरण बितरण कार्यक्रम,मकै बिउ बितरण, कृषि प्रबिधि सम्बन्धी तालिम, तरकारी बिउ उत्पादन कार्यक्रम, फलफुल उत्पादन कार्यक्रम कोरोना महामारीको कारण त्रिबेणी गाँउपालिकाले सम्पन्न गरेको छैन ।
यसैगरी माटो परिक्षण कार्यक्रम पनि त्रिबेणी गाँउपालिकाले गर्न सकेको छैन । त्रिबेणी गाँउपालिकाले चाल आर्थिक बर्षमा करेसाबारी कार्यक्रम, तरकारी बिउ बितरण कार्यक्रम, गहुँको बिउ बितरण कार्यक्रम र बाली संरक्षण कार्यक्रम संचालन गरिरहेको छ ।
३ लाख ७० हजार बजेट बिनियोजन गरी काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले बताउनुभयो ।
त्रिबेणी गाउँपालिकामा कृषिका लागी धेरै काम नभएको पालिकाले जनाइसकेको छ । त्रिबेणी ७ का मनबहादुर खड्काका अनुसार गाँउपालिकाले कृषि खेतीलाई प्रोत्सान गर्न भन्दै बिभिन्न शिर्षकमा बजेट छुट्याएपनि स्थानीय स्तरमा नपुगेको बताए । खड्का अनुसार त्रिबेणीमा पनि स्पष्ट रणनिति नहुँदा पालिकाले समयमा बजेट खर्च गर्न नसकेको हो ।
यस्तै सोही गाँउपालिका ४ का रामबिर पुनले कृषकका लागी भनेर छुट्याइएको रकम आफुहरुसँग नपुगेको बताउँछन् । उनी भन्छन् “कहाँ कहाँ खर्च हुन्छ थाहा छैन । हामीसम्म त कहिलै आउँदैन ।”
सदरमुकाम रहेको मुसिकोट नगरपालिकाले पनि महामारीको कारण देखाउँदै रकम खर्च गर्न सकेको छैन । चालु आर्थिक बर्षमा कृषि क्षेत्रमा बिनियोजन गरिएको बजेट ४६८८०० हो । जस मध्य हाल सम्म १६ लाख ५० हजार खर्च भएको छ ।
सो बजेटलाई बिभिन्न क्षेत्रमा खर्च गरिएको कृषि अधिकृत प्रेमबहादुर खत्रीले बताए । खत्रीका अनुसार मुसिकोट नगरपालिकाका १४ वटै वडामा कृषकहरुलाई अग्रानिक खेतीमा उत्प्रेरित गर्नका लागी एक लाख छुट्याइएको हो ।
सो बजेट एक लाखका दरले हरेक वडामा कृषकका लागी भनेर छुट्याइएको थियो । सबै बजेट खर्च भइसकेको कृषि अधिकृत खत्रीले जानकारी दिए । यसै गरी अति बिपन्न, द्धन्दपिडित तथा अपांग लक्षित स्वरोजगार कार्यक्रम अन्र्तगत ३ लाख खर्च भएको छ ।
कोरोना महामारी कारण बजेट कार्यान्वनाम चुनौती थपिएको कृषि अधिकृत प्रेमबहादुर खत्रीको भनाई छ । खत्रीले भने “हामीले यो महामारी नभएको भए तोकिएको लक्ष्य अनुसार काम सम्पन्न गर्ने थियौं ।
समुदायमा गएर समुहमा काम गर्न साह्रै समस्या भयो ।” यद्यपी कोरोना महामारी कायमै भएकोले आगामी दिनमा सावधानीका बिभिन्न रणनिती अबलम्बन गरेर काम गरिने उनको भनाई छ । कृषि अधिकृत खत्रीका अनुसार कोरानाबाट सुरक्षित भएर काम गर्नको लागी स्वास्थ्य मापदण्डको प्रयोग गरेर काम गरिने छ ।
यसैगरी आठबिसकोट नगरपालिकामा संघीय सरकारले साना सिंचाईको लागि ५ लाख अनुदान दिएको थियो । जस मध्य वडा नं ३,७,९ र १२ मा एक एक वटा गरी ४ वटा योजना सम्पन्न भएको कृषि अधिकृत देव बहादुर के.सीले बताए । केसीका अनुसार संघीय सरकारको भकारो सुधार कार्यक्रम अन्तर्गत ३ लाख बजेट प्राप्त भएको थियो ।
सो रकमले वडा नं ११ का ३० वटा भकारो सुधार गरिएको छ । संघीय सरकारबाटै माटो परिक्षणका लागि ३ लाख बजेट प्राप्त भएको भएपनि कोरोनाकै कारण गर्न नसकिएको कृषि अधिकृत के.सीले बताउनुभयो ।
केसीका अनुसार अव काम सुरु गरेर यसै आर्थिक बर्ष भित्र सक्ने योजना छ । प्रदेश सरकारको २ करोड अनुदानबाट ४५००० ओखरका बिरुवा आठविसकोट नगरपालिकाले ल्याएको छ । सबै वडामा बितरण गरिएको छ ।
यसैगरी सोही बजेटबाटै ११ हजार ६१५ किबिको बिरुवा किनिएको कृषि अधिकृत के.सीको भनाइ छ ।
चौरजहारी नगरपालिकाले पनि कोरोना महामारीको कारण भन्दै सबै कार्यक्रम सम्पन्न गर्न नसकेको जनाएको छ । तर गत आर्थिक बर्षका कारण भने सबै सम्पन्न भएको चौरजहारी नगरपालिकाका कृषि प्राबिधिक सहायक बिमल खडकाले बताउनुभयो ।
उहाँका अनुसार चौरजहारी नगरपालिकामा संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त रकम अनुसार कार्यक्रमका लागि बजेट बिनियोजन गरिएको थियो ।
गत आर्थिक बर्षमा चौरजहारी नगरपालिकामा कृषि क्षेत्रको लागि बिनियोजन भएको रकम ५६ लाख ६१ हजार थियो ।
संघीय सरकारबाट करिव २८ लाख र कर्णाली प्रदेश सरकारबाट करिव १८ लाख बजेट मध्य सबै रकम खर्च भइसकेको छ । नगरपालिकाले सो रकम अन्र्तगत साना सिंचाई, खाद्य सुरक्षा कार्यक्रम, फलफुल बिरुवा बितरण, भकारो सुधार, आलुको बिउ बितरण , खाद्य बालीको बिउ बितरण, तरकारीको बिउ बितरण कार्यक्रम गरेको थियो ।
चालु आर्थिक बर्षमा चौमासिकमा गर्नुपर्ने काम भने नगरपालिकाले प्रगति हासिल गर्न सकेको छैन । कोरोनामै कारण देखाएर काम सम्पन्न हुन नसकेको हो । चालु आर्थिक बर्षको लागी ८८ लाख ९५ हजार बजेट कृषि क्षेत्रलाई छुट्याइएको छ तर प्रथम चौमासिक सकिने बेला सम्म पनि स्वीकृत बजेट ढिला प्राप्त हुनाले प्रगति हासिल हुन नसकेको कृषि प्राबिधिक खड्काको भनाइ छ ।
चालु आर्थिक बर्षमा चौरजहारीमा गहुँको बिउ अनुदान बितरण, तरकारी बिउ बितरण, र आकस्मिक बाली संरक्षण अन्तर्गत बालीमा किरा लागेका कृषकहरुलाई निशुल्क बिषादी बितरण गरिएको छ ।
चालु आर्थिक बर्षमा चौरजहारी नगरपालिकाले ३५ लाख ६६ हजार खर्च गरिसक्नुपर्ने भएको भएपनि ४ लाख ९३ हजार ९६० मात्र खर्च भएको छ ।
यो नगरपालिकाले पनि मुख्य कारण कोरोना महामारी देखाएको छ ।
यस्तै बाँफीकोट गाँउपालिकामा गत आथिक बर्षमा समानिकरण तर्फ बजेट १० लाख बिनियोजन गरिएको थियो । जस अन्र्तगत तरकारी उन्नत बिउ बितरण, उन्नत प्रबिधि प्रदर्शन, फलफुल बिरुवा बितरण, च्याउ बिउ बितरण, आकस्मिक बाली संरक्षण सेवा, फौजी किरा नियन्त्रणको लाग बिषादी बितरण लगाएतका कार्यक्रम गरिएको छ ।
बाँफीकोट गाँउपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्र ओलीका अनुसार सो रकम खर्च सबै भइसकेको छ । यस्तै गत आर्थिक बर्षकै सशर्त अनुदान रकम संघीय र प्रदेश सरकारबाट प्राप्त भएको थियो ।
१५ लाख मध्य १३ लाख रकम खर्च भएको कृषि शाखा प्रमुख ओलीले जानकारी दिनुभयो । संघीय र प्रदेश सरकारबाट प्राप्त ससर्त अनुदान अन्र्तगत सहकारी सिंचाई, साना सिंचाई मर्मत संभार तथा निमार्ण, भकारो सुधार कार्यक्रम, माटो परिक्षण तथा सुधारका लागि सामाग्री बितरण कार्यक्रम रहेका थिए ।
जस मध्य माटो परिक्षण तथा सुधारका लागि सामाग्री बितरण कार्यक्रम गर्न नसकिएको बाँफिकोट गाँउपालिकाले जनाएको छ । सो कार्यक्रममा रहेको २ लाख रकम खर्च हुन सकेको छैन । कोरोनाको कारण लकडाउन भएपछि काम गर्न नसकिएको कृषि शाखा प्रमुख ओलीको भनाइ छ ।
चालु आर्थिक बर्षमा बाँफिकोट गाँउपालिकाको सशर्त अनुदान ३६ लाख र गाँउपालिकाको रकम १० लाख रहेको पालिकाले जनाएको छ ।
कार्यक्रमहरु भइरहेको हुँदा सबै काम सम्पन्न नहुँदासम्म भन्न नसकिने कृषि शाखा प्रमुख लोकेन्द्र ओलीले बताउनुभयो । तर बाँफकोट गाँउपालिकामा प्रथम चौमासिकमा पनि सबै काम सम्पन्न हुन सकेका छैनन ।
कोरोना महामारीको कारण लक्ष्य अनुसारको प्रगति हुन नसकेको गाँउपालिकाकाले जनाएको छ । गाँउपालिकाका कृषि शाखा प्रमुख ओलीका अनुसार आगामी दिनमा बजेट कार्यान्वयनका रणनितिहरु अबलम्बन गर्न गाँउपालिकाले सिकाईको रुपमा लिएको छ ।
कोरोना भाइरसको महामारीलाई मध्यनजर गरी सहज वाताबरण सृजना गरी कार्यक्रम संचालन गर्ने, कार्यक्रमको लागि समयमा सुचना प्रसारण गर्ने तथा कार्यक्रम संचालनको लागी समय समयमा कृषक समुहहरुसँग समन्वय र सहजिकरण गर्ने लगाएतका रणनिति अबलम्बन गरिने बाँफिकोट गाँउपालिका कृषि शाखाले जनाएको छ ।
कोरोनाकै कारण खर्च हुन सकेन: जिल्ला कार्यालय
यता कर्णाली प्रदेश सरकार अन्तर्गत रहेको जिल्ला कृषि विकास कार्यालयले गत आर्थिक बर्षमा ३१ करोड बजेट बिनियोजन गरेको थियो । जस मध्य २८ करोड ९५ लाख रकम खर्च भएको छ ।
जिल्ला कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख मिनबहादुर के.सीका अनुसार कोरोनाकै कारण खर्च हुन नसकेको नभएर .समुहहरुका कारण केही रकम खर्च नभएको बताए । कार्यक्रम तर्फको खर्च भइसकेको तर केही चालु बजेट मात्र खर्च नहुन नसकेको उहाँको भनाइ छ ।
निमित्त कार्यालय प्रमुख के.सीले भौतिक दुरी कायम गरेर भएपनि काम भएको दावी गर्नुभयो । उहाँले चालु आर्थिक बर्षमा सिंचाई निमार्ण कोल्ड स्टोर निमार्ण, अदुवा प्रशोधन लगाएतका काम संचालन भइरहेको बताउनुभयो ।
स्थानीय तहहरु कृषि क्षेत्रमा रहेको बजेटलाई सम्बन्धित क्षेत्रमा खर्च गर्न प्रयासरत भएपनि स्पष्ट रणनीति नहुँदा अलमलिएको देखिएको छ । कोरोनालाई बहाना बनाइए पनि कृषि बजेट खर्च हुन नसक्नुभा कोरोना मात्र कारण भने होइन भन्ने कुरा पालिकाहरुको कार्यशैलीले प्रष्ट पारेको छ । प्रष्ट योजना र रणनीति नै नहुँदा उनीहरुले बजेट परिचालन गर्न नसकेका हुन् ।
कतिपय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत छैनन् भने कतिपय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र स्थानीय तहका प्रमुखबिचको समन्वय अभाव मुख्य कारण हुन पुगेको छ ।
पालिकाहरुको नगर तथा गाउँसभामा कृषि क्षेत्रको बजेट परिचालनका विषयमा स्पष्ट रणनीति तयार पार्न सकिए बजेट खर्च गर्ने धेरै क्षेत्रहरु पहिचान हुन सक्छन् ।
यसले कृषकको जनजीवन माथि उकास्न सहयोग पुग्ने मात्र होइन, कृषि क्षेत्रमा परिवर्तन ल्याउन सक्ने सम्भावना समेत रहेको छ ।।
प्रतिक्रिया राख्नुहोस्