मानव सेवा आश्रमको ‘मेची महाकाली यात्रा’ अभियान गोरखामा

गोरखा- ‘मेची महाकाली यात्रा’ मा निस्किएको मानव सेवा आश्रमको टोली गोरखा जिल्ला सदरमुकाम पुगेको छ ।

टोलीलाई गोरखा नगरपालिकाले एक कार्यक्रमकाबिच स्वागत तथा अभिनन्दन गरेको थियो ।

आश्रमका अध्यक्ष रामजी अधिकारीको नेतृत्वमा यही पुष ७ गते मेचीको काकडभिट्टाबाट यात्रा शुरु भएको हो । उक्त यात्रा महाकालीको महेन्द्रनगर पुगेर टुङ्गिने अधिकारीले बताए ।

सडक मानव मुक्त गराउने लक्ष्य रहेको बताउदै यात्राको क्रममा सडकमा भेटिएका अनाथ, अशक्त र वेसहाराहरुलाई उद्धार गरेर आश्रममा राखिने उनले जानकारी दिए ।

उनीहरुमध्ये १५ सय भन्दा बढीको पारिवारिक पुनःमिलन गराउन सफल भएको उनले जानकारी दिए । हाल आश्रममा १३ सय भन्दा बढी मानिस आश्रित रहेको उनको भनाइ छ ।

यात्राको क्रममा गोरखा आइपुगेका मानव सेवा आश्रमका टोलीलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाले २० थान ब्ल्याङकेट सहयोग गरेको छ ।

रेडक्रस जिल्ला सभापति भगवानबाबु मास्केले आश्रमका अध्यक्ष अधिकारीलाई आइतवार ब्ल्याङकेट हस्तान्तरण गरेका हुन् ।

यात्रामा रहेको टोलीले आइतवार पालुङटार नगरपालिका वडा नम्वर ६ बस्ने बर्ष ४० का शिव घिमिरेलाई उद्धार गरेको छ ।

उनी केही समय यता सडकमा खाने बस्ने गर्दै आएका थिए । उद्धार गरेर उनलाई मानव सेवा आश्रम लम्जुङ्ग लगिएको छ ।

कार्यक्रममा बोल्दै मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले हालसम्म आश्रमले पाँच हजार भन्दा बढी सडक मानवलाई उद्धार गरिसकेको बताए ।

गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको अध्यक्षतामा भएको स्वागत तथा अभिनन्दन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख जानुका अधिकारी, प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, मानव सेवा आश्रम गोरखाका अभिभावक ईश्वरकाजी मास्के, पत्रकार कैलाशबावु श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.