गोरखा-काठमाडौं एकिकरण मार्गमा सेनाको पदयात्रा
गोरखा-पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा–काठमाडौं एकिकरण मार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ ।
मंगलबार गोरखा दरबारको हनुमान भञ्ज्याङबाट यात्रा सुरु भएको हो । सहसेनानी दल बहादुर थापाको नेतृत्वमा ४० जनाको टोली पदयात्रामा सहभागी छन् ।
नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज) का झण्डाहरु लिएर पृथ्वी नारायण शाहकालीन पोशाकमा बाजागाजासहितको टोली यात्रामा निस्किएको रणसिंह दल गणका गणपति उज्वल केसीले जानकारी दिनुभयो ।
गोरखा दरबारबाट सुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौं पुग्नेछ ।
गोरखाबाट हिँडेको टोलीले गोरखा नगरपालिकाको ताप्ले, भिमसेन थापा गाउँपालिको अश्राङ, बोर्लाङ हुँदै बुंकोटघाट पुगेर धादिङको देविदत्त गणलाई टर्च र झण्डा हस्तान्तरण गर्नेछ ।
त्यस्तै सोहि टोलीले नुवाकोटको जबरजंग गणलाई बुझाउँछ र काठमाडौंको पल्टनलाई बुझाउन नुवाकोटको टोली पुस २६ गते काठमाडौं पुग्नेछ ।
केसीका अनुसार टर्च र झण्डासहित उक्त पल्टन पुस २७ गते पृथ्वी जयन्तीको दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागि हुनेछ । पदमार्ग, कोट, गढी र किल्लाहरु सम्वर्द्धन तथा प्रवर्द्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रम अन्तर्गत पदयात्रा गरिएको सेनाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त र नेपाली सेनाका पृतनापति विनय विक्रम राणाले संयुक्त रुपमा सहसेनानी दल बहादुर थापालाई टर्च र झण्डा हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराइले एकिकरण मार्ग प्रवर्द्धनका लागि जिल्लाहरुबिच आवश्यक समन्वय हुनुपर्ने बताउनुभयो ।
पृतनापति राणाले राष्ट्रिय एकताको सन्देशका लागि पनि पदयात्रा गरिएको बताउनुभयो ।
पदमार्ग, कोट, गढी र किल्लाहरु सम्वर्द्धन, संरक्षण तथा प्रवर्द्धन गर्ने सेनाको विशेष कार्यक्रम रहेको बताउँदै राणाले इतिहास सम्बर्द्धनको कार्यमा सहयोग गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।
गोरखा नगरपालिकाका मेयर पन्तले इतिहास संरक्षणका लागि सेनाले सुरु गरेको कार्यलाई सबै स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनुभयो ।
इतिहास जर्गेनाका लागि सेनाले गरेको कामको प्रशंसा गर्नुहुँदै मेयर पन्तले गत वर्षबाट गोरखा नगरपालिकाले पनि पृथ्वी जयन्ती भव्यताका साथ मनाउन थालेको जानकारी दिनुभयो ।।
प्रतिक्रिया राख्नुहोस्