मकर सङ्क्रान्ति उत्सव सम्पन्न

जनकपुर- मकर (तीला) सङ्क्रान्ति पर्वका सन्दर्भमा जनकपुरधाममा मकर सङ्क्रान्ति उत्सव सम्पन्न भएको छ ।

सखी बहिनपा मैथिलानी समूहद्वारा आयोजित सो उत्सवमा लोप हुन लागेको पमरिया र जटजटिन लोकनृत्यलगायत संस्कार गीत, मैथिल भोजन र मकर सङ्क्रान्तिमा प्रयोग हुने सामग्री प्रदर्शन गरिएको थियो ।

सूर्य मकर राशिमा प्रवेश गर्ने दिनलाई मकर सङक्रान्ति र तिल खाने दिन भएकाले तिला सङ्क्रान्ति तथा यस दिनदेखि सौरमासको आवधारणा अनुसार माघ महिनाको आरम्भ हुने गरिएकाले माघे सङ्क्रान्ति पर्व भनिने चलन छ ।

सूर्यको गति यस दिनदेखि उत्तराभिमुख हुने भएकाले यसलाई उत्तरायण पनि भनिन्छ । मकर सङ्क्रान्ति पर्वका दिन मातापिताले सन्तानलाई तिल, गुड मिश्रित चामल दाहिने हत्केलामा तीन पटक राखिदिएर खान दिन्छन् ।

यस बखत मातापिताले तिल बहिदेव भनेर सोध्ने एवं सन्तानले तिल बहने बचनबद्धता जाहेर गर्ने गर्दछन् । मिथिलामा तिल बहिदेव भनेको निःस्वार्थ भावले सेवा गर्नु हो । यसमा मातापितालगायतका मान्यजनले आफ्ना सन्तान सरहका व्यक्तिलाई पनि तिलबही दिने गरिन्छ ।

यो पर्वले आयु, आरोग्य, सम्पति, रूप, गुण, पापबाट मुक्ति हुने मान्यताका साथै सन्तानले मातृपितृ ऋणको भारलाई बहन गर्ने विश्वास गरिन्छ । यस पर्वमा तिल बहिदेव भन्ने शब्दको उच्चारणको अर्थ तिलको ऋण बहन गर्ने हो ? भनेर सोधिने गरेको मान्यता रहेको पाइन्छ ।

कालो तिल विष्णु भगवानको स्वरूप मानिने धारणा रहेकाले यसलाई पवित्र अन्न मानिन्छ । यस पर्वमा तिल र मीठा खान दिँदा भगवान विष्णुको कृपा र माधुर्यले सन्तानको जीवन आप्लावित भइरहने विश्वास रहेको पाइन्छ ।

यस पर्वमा खिचडी खाने चलन पनि छ । यस दिनको खिचडीमा मासको दाल तथा अदुवाको प्रयोग गरिएको हुन्छ । कतिपय परिवारमा यस दिन कुलदेवताको स्थानमा खिचडीको नैवेद्य चढाइने गरिन्छ ।

पर्वमा खिचडीका साथ घीउ, पापड, दही र अचार खाने चलन रहेको पाइन्छ । यसका साथै (मुरहीको लड्डु ) चुरलाई (च्युराको लड्डु ) र तिलबा (तिलको लड्डु) का साथै च्युरा र मुरही खाने प्रचलन छ ।

सो अवसरमा भौतिक पूर्वाधार राज्यमन्त्री डा डिम्पल झाले मिथिलाको चाडपर्वमा संस्कार, कला, संस्कृति र भाषालाई जीवित राख्ने गुढ रहस्य भएकाले यसको रक्षा र संरक्षण प्रत्येक व्यक्तिको घरबाटै हुनु जरूरी छ भन्नुभयो ।

धार्मिक, सांस्कृतिक र भाषिक प्रहारको क्रम दिनप्रतिदिन बढदै गइरहेको परिपेक्षयमा अंश, बंश, संस्कार र जीवन पद्दतिलाई मर्यादित बनाइ सन्ततिलाई संस्कार, संस्कृति र भाषाप्रति अपनत्व बोधको दायित्व महसुस गराउन सखी बहिनापाको शाखा प्रत्येक जिल्लामा विस्तार गर्नु आवश्यक रहेको धारणा उहाँले राख्नुभयो ।

सखी बहिनपा मैथिलानी समूहका संस्थापिका आरती झाले मातृभाषा, संस्कृति, सभ्यताको रक्षा गर्न सबै अग्रसर हुनुपर्ने खाँचो औल्याउनुभयो । उहाँले कला, उद्यम, सीपको प्रवद्र्धन र संस्थाको विस्तार तथा विकासका लागि सबै ऐक्यबद्ध हुनु जरूरी छ भन्नुभयो ।

धनुषा जिल्ला समन्वय समितिका उपाध्यक्ष दीपक झाले पवित्रता, शुद्धता, स्वस्थता, सेवा र दायित्व निर्वाह समाहित रहेको चाडपर्वलाई जीवन्त राख्नु आजको आवश्यकता छ भन्नुभयो ।

उत्सवमा कलाकार अविनाश झा, इसिका भुजेल, पीपही राउत, साजन र कामिनीले पमरिया, जटजटिन र गायिका प्रियाशा चौधरी र सङ्गीता देवले सोहर, पुनम मिश्र, ज्योति झा, कल्यान मिश्र, शिल्पी मिश्र र नीतु झाले भगवती गीत र सखी बहिनपाले सखी बहिनपा गानमा नृत्य प्रस्तुत गरेका थिए ।

वरिष्ठ सखी अरूणा मिश्राको अध्यक्षतामा भएको सो समारोहमा अभियानी सुनिता मिश्र, पुनम झा मैथिल, भारती चौधरी, बिन्दु ठाकुर र सीमा चौधरीले उत्सवको उपादेयता र सखी बहिनपाको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.