वेत्रावतीमा श्राद्ध गर्नेको घुइँचो (फोटो फिचर)

रसुवा– रसुवा र नुवाकोटको सीमा रहेको उत्तरगयाधाम वेत्रावतीमा पौसे औंसीमा श्राद्ध गर्नेहरुको बिहानै देखि घुइँचो लाग्यो । धार्मिक एवम् पवित्र उत्तरगयाधाम त्रिशुली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा पौसे औँशीको दिन आज दिवंगत पितृहरूको चीरशान्तिको कामना गर्दै ‘जौ’ को पिण्ड दिएर श्राद्ध गर्नेको भिड लागेको हो ।

उत्तरगयाधाममा हजारौ हिन्दु र बौद्ध दुवै धर्मावलम्वीले पितृको नाममा पिण्ड तर्पण गर्ने गरेका छन् । हिन्दु धर्मालम्वीले बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर पितृको नाममा श्राद्ध, दान, तर्पण गर्छन् भने बौद्ध धर्मालम्वीले मृत्यु भएका आफन्तका नाममा लामाहरुले मन्त्र पढ्ने र बत्ति बाल्ने गरेका छन् ।

उत्तरगयाको नामले चिनिने वेत्रावतीमा पौष कृष्ण औंसीका दिन आई पितृलाई पिण्ड दान दिई श्राद्ध गर्नाले पितृ मोक्ष हुन्छ भन्ने विश्वास रहेको छ ।

देवता र दानवले समुद्र मन्थन गर्दा निस्किएको हलाहल नामको कालकूट विष घाँटीमा लिएका महादेवले बेतको लौरोले पहाडमा हान्दा त्यहाँबाट बगेको वेत्रगङ्गा र त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशूली नदीको संगममा पौष कृष्ण औंसीका दिन सबै देवता र मृतात्माको जमघट हुने विश्वासका साथ श्राद्ध गर्ने गरिएको हो ।

पौस कृष्ण औंसीका दिन वेत्रावतीमा आमाबाबु नभएकाहरुले सके वर्षेनि र नसके जीवनमा एक पटक भए पनि श्राद्ध गर्ने चलन छ । बेत्रावतीमा श्राद्धका लागि पवित्र मानिएका हिन्दकुश क्षेत्रका चार गयामध्ये एउटा गयाको रुपमा पिण्डदान गर्ने चलन छ ।

चार गयामध्ये तीन वटा गया भारतमा पर्छ । भारतमा रहेको चारधाम दर्शन गर्नुभन्दा पहिले उत्तरगयामा दर्शन गरे पुण्यप्राप्त हुने भक्तजनको भनाइ छ ।

श्राद्ध गर्नका लागि रसुवा सहित नुवाकोट, धादिङ, काठमाडौं, मकवानपुर, चितवन, गोरखा, कास्की लगायतका स्थानका मानिसहरु उत्तरगयामा आउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.