शीत भण्डारबाट डेढ करोडको बिउ आलु बिक्री
स्याङजा-स्याङ्जामा आलुको बिउ भण्डारण गर्न शीत भण्डार निर्माण गरिएसँगै आलुखेती गर्ने कृषकको आकर्षण बढेको छ ।
यस वर्ष शीत भण्डारबाट डेढ करोडको बिउ आलु बिक्री गरिएको छ । यहाँबाट ३०० भन्दा बढी कृषकले २६७२ बोरा बिउ आलु बिक्री गर्न सफल भएका छन् ।
प्रति किलो ७ रुपैँयामा यस शीत भण्डारमा आलु राख्न सकिने व्यवस्था भएपछि छिमेकी जिल्ला पाल्पाका कृषकसमेत लाभान्वित भएका छन् । पछिल्लो समय यहाँबाट देशका बिभिन्न जिल्लामा आलुको बिउ निर्यात हुन थालेको छ ।
३०० भन्दा बढी कृषकले करिब डेढ करोडको कारोवार गर्न सफल भएको शीत भण्डार संचालक समितिका अध्यक्ष रुमलाल कंडेलले जानकारी दिनुभएको छ ।
विश्व बिकाश बैंकको सहयोग ,नेपाल सरकार सिंचाई तथा जलस्रोत व्यवस्थापनको अनुदान रकम र आँधीखोला बहुउदेश्यीय पानी उपभोक्ता संस्थाको सहभागितामा एक करोड सत्र लाखको लागतमा मझौला शीत भण्डारण गृहको निर्माण गरिएको हो ।
यो भण्डारगृहको क्षमता एक सय पचास मेट्रिक टन हो तर श्रमता भन्दा बढि कृषकको माग आउन थालेको छ । प्रति केजी ७ रुपैँयामा कृषकले बिउआलु भण्डारण गर्दै आएका छन् ।
बिउ आलु लक्षित गरेर या शीत भण्डारण संचालनमा ल्याएसँगै खुशी भएका कृषकहरु भारतबाट आयात हुने आलुमासमेत गिरावट आउने बताउँछन् ।
अब आफ्नै बारीमा उत्पादन भएको आलु लामो समयसम्म भण्डारण गर्न सकिने भएपछि देश बाहिर जाने ठुलो रकम स्वदेशमै रहने मात्र होइन आलु खेतीमा कृषकको आकर्षण समेत बढ्ने देखिएको छ ।।
प्रतिक्रिया राख्नुहोस्