मन्त्री तुम्बाहाङ्फेद्वारा एकैपटक सबै स्थानीय तहसँग सम्झौता गर्न भूमि आयोगलाई निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमि सम्बन्धी समस्या समाधान आयोगलाई एकैपटक सबै स्थानीय तहसँग भूमि सम्बन्धी सम्झौता गर्न निर्देशन दिनुभएको छ ।
आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीसहितको टोलीलाई मंगलबार मन्त्रालयमा बोलाएर आयोगलाई एकैपटक सबै स्थानीय तहसँग भूमि सम्बन्धी सम्झौता गर्न निर्देशन दिनुभएको हो । आयोगको टोलीले माघ ८ गते एकैपटक सम्झौता गर्न बाँकी रहेका स्थानीय तहसँग विद्युतीय माध्यमबाट सम्झौता गर्ने प्रतिबद्धता व्यक्त गरेको उहाँले बताउनुभयो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार यसअघि नै ४८ वटा जिल्लाका १९४ वटा स्थानीय तहसँग सम्झौता भइसकेको छ । अब बाँकी रहेका ५६० स्थानीय तहसँग आयोगले एकैपटक सम्झौता गर्ने तयारी गरेको हो ।
मन्त्री तुम्बाहाङ्फेले पदबहाली गरेकै दिन स्थानीय तहसँगको सम्झौतालाई प्राथमिकतामा राख्न मन्त्रालयका अधिकारीलाई निर्देशन दिनुभएको थियो । उहाँले सोमबार नै मन्त्रालयमा विभिन्न स्थानीय तहका उपप्रमुखलाई बोलाएर आयोगको काममा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
भूमिहीन, दलित, सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न आयोगले स्थानीय तहसँग सम्झौता सुरु गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्