प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
मोरङ– प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
बुधafरदेखि शुरु भएको प्रदेश सभा अधिवेशनमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाउनु भएको पत्र पढेर सुनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको घोषणा गर्नुभयो ।
नेकपा भित्रको विवादका कारण प्रदेश सभा बैठक संचालनमा अन्यौल भइरहेको बेला बुधबार बिहान बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेश प्रमुखको पत्र मात्र पढ्ने गरी बैठक सञ्चालन गर्ने निर्णय भएको थियो । प्रदेश सभा अधिवेशन शुभारम्भमा विभिन्न दलका सांसदहरुले शुभकामना मन्तव्य दिने कार्यक्रम समेत हटाइएको थियो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको र एक अर्कालाई निलम्बन गर्ने कार्य भएकाले प्रदेश सभा अधिवेशन सञ्चालनमा गतिरोध आउने आशंका गरिएको थियो । अधिवेशन स्थगित भएसँगै मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव अन्यौलमा परेको छ ।
यसैबीच नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बैठक स्थगित गरिएपछि पार्टीभत्रको विवाद मिलाउन समय मिलेको बताउनुभयो ।
नेकपा प्रचण्ड माधव समूहका नेता इन्द्र आङ्बोले भने प्रदेश सभाको बैठक चाँडै नै बोलाउने विश्वास व्यक्त गर्दै बैठक पुनः सञ्चालन भएपछि मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावबारे छलफल गरिने जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले भने प्रदेश सभालाई अन्यौलमा राख्न नहुने बताउँदै एक साता भित्र अर्को बैठक बोलाउने सहमति भएको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्