कमलपोखरीको १ इन्च पनि जमिन मिचिएको छैन : मेयर शाक्य
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणका सन्दर्भमा छिट्टै पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी दिने बताउनु भएको छ ।
बुधबार काठमाडौँ महानगरपालिकाको आठौँ नगरसभालाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘हामीले तयार पारेको ड्रोइङ–डिजाइन, हामीले गर्न खोजेको कामलगायतका बारेमा त्यहाँको सबै बस्तुस्थितिबारे छिटै पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौँ,’ शाक्यले भन्नुभयो, ‘काम गर्ने सिलसिलामा ठेकेदार कम्पनीले गलत गरेको रहेछ भने पनि हामी त्यसको सत्यतथ्य जानकारी दिन तयार छौँ ।’
उहाँले कमलपोखरीको ड्रोइङ डिजाइन सो क्षेत्रका तत्कालीन संघीय सांसद गगन थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ–संस्था सबैसँग पटक–पटक छलफल गरेर सबैको सहमतिमै पुर्ननिर्माणको काम अघि बढाएको पनि जानकारी दिनुभयो । ‘बास्तुविदहरुसँग पनि हामीले पटक–पटक छलफल गरेर उहाँहरुको सुझाव अनुसार नै काम अघि बढाएका हौँ,’ उहाँले भन्नुभयो, ‘पुर्ननिर्माणको काम अहिलेसम्म सकिसक्नु पर्ने हो । हामीले ठेकेदार कम्पनीलाई पनि पटक–पटक ताकेता दिएर समयमा काम सम्पन्न गर्न निर्देशन दिएका थियौँ । तर, अहिले विभिन्न खाले आरोप लगाएर अवरोध गर्ने काम भएको छ । यसमा हाम्रो पनि ध्यानाकर्षण भएको छ ।’
प्रतिक्रिया राख्नुहोस्