वाइडेनलाई बधाई !
काठमाडौं- मुलुकको उच्च नेतृत्वबाट संयुक्त राज्य अमेरिकाको नवनिर्वाचित नेतृत्वले कार्यभार सम्हालेकामा शुभकामना सन्देश सम्प्रेषण भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जोसेफ रोबिनेट्टी वाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएकामा बधाई ज्ञापन गर्नुभएको छ ।
नेपाल–अमेरिका सम्बन्ध सुमधुर रहेको जनाउँदै राष्ट्रपति भण्डारीले आज उहाँलाई पठाउनुभएको बधाई सन्देशमा नेपालको सामाजिक–आर्थिक विकासका लागि अमेरिकाबाट प्राप्त सहयोगको सराहना गर्नुभएको छ ।
उन्नत एवं बहुआयमिक नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति वाइडेनको कार्यकालमा अझ विस्तृत एवं घनीभूत हुने विश्वास व्यक्त गर्दै उहाँले कोभिड–१९ समस्या सम्बोधन गर्न नवनेतृत्वलाई सफलता मिल्ने कामना गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सन्देशमा राष्ट्रपति भण्डारीले आफ्ना अमेरिकी समकक्षीको कार्यकालको सफलताको कामना पनि गर्नुभएको छ । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले कमलादेवी ह्यारिसलाई बधाई सन्देश पठाउँदै अमेरिकाको इतिहासमा प्रथम महिला उपराष्ट्रपति निर्वाचित हुनुभएकामा प्रशंसा गर्नुभएको छ । लैङ्गिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तनजस्ता विषयलाई अमेरिकाको नयाँ नेतृत्वले प्राथमिकतामा राखेकामा उपराष्ट्रपति पुनले सराहना गर्नुभएको छ ।
पुरानो मैत्रीलाई सबल तुल्याइने छः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति वाइडेनको सक्षम नेतृत्वमा अमेरिकाले निरन्तर प्रगति र समृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
अमेरिकासँगको पुरानो मैत्रीलाई सबल तुल्याउने प्रतिबद्धता व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले पारस्परिक हित र चासोका विषयमा द्विपक्षीय तथा अन्तरराष्ट्रिय महत्वका मामिलालाई अघि बढाउन बहुपक्षीय तहमा अमेरिकी नयाँ नेतृत्वसँग सहकार्य गर्ने नेपालको चाहना व्यक्त गर्नुभएको छ ।
सहयोग, आर्थिक साझेदारी तथा दुई देशबीच जनस्तरको सम्बन्धमा आधारित नेपाल–ंअमेरिका सम्बन्धले आगामी वर्षमा नयाँ उचाइ चुम्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।
यसैगरी राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपराष्ट्रपति ह्यारिसलाई बधाई सन्देश पठाउँदै नेपाल–अमेरिका सम्बन्ध अझ सुदृढ तुल्याउन तथा नेपालको सङ्घीय संसद् र अमेरिकी संसद्बीच सहयोग अभिवृद्धि गर्ने आफ्नो अभिलाषा प्रकट गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्