पार्टी एकता गरेर बलियो शक्ति बनाउने प्रयास सम्भव भएनः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वाम पार्टीबीच एकता गरेर बलियो शक्ति बनाउने प्रयास भए पनि सम्भव नभएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेतृत्वमा रहेका नेताहरुले सत्ताको सपना देखेका कारण पार्टी विभाजनको अवस्थामा पुगेको उल्लेख गर्नुभयो । ‘वाम पार्टी जोडेर एउटा मजबुत शक्ति बनाउने र देशलाई आधुनिक बनाउने योजना थियो,’ उहाँले भन्नुभयो, ‘तर, पार्टी त तपाईंहरुले देख्नुभयो । आँट नभएको, हुति नभएको र मन नभएको पार्टी भयो ।’

सत्ता स्वार्थका कारण सांसदको किनबेचदेखि समीकरण बनाउनेसम्मका खेलहरु भएको प्रधानमन्त्रीको भनाइ थियो । उहाँले संविधानको रक्षा गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, लोकतान्त्रिक प्रणलीलाई सही बाटोमा लैजान राजनीतिक लडाईं लडिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेकपाको दाहाल–नेपाल समूहले देशलाई अन्धकारतर्फ धकेल्ने कोसिस गरेको आरोप लगाउनुभयो । दाहाल–नेपालसमूहले चलचित्रमा जस्तै तमासा देखाएको उहाँको टिप्पणी थियो । ‘देशमाथि सांस्कृतिक र अनेक हमला भइरहेको छ । यसमा हामी सबै सजग हुनुपर्छ । देश बनाउने र बचाउने हो भने हामीले सहमति कायम राख्न आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘हामी कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साध्ने होइनो । हामी रातो झण्डा फहराउनेवालाहरु हौँ । काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ । हामी उज्यालो र चम्किलो भविष्यतर्फको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट छौँ । हामीलाई देश बनाउनु छ । सुशासन र विकासको बाटामा जानु छ ।’

प्रधानमन्त्री ओलीले देशको ठूलो समस्या पित पत्रकारिता रहेको बताउँदै निष्पक्ष र तथ्यसहितको पत्रकारिता गर्न सुझाव दिनुभयो । ओलीले पीत पत्रकारिता आफैँ हराएर जाने जनाउँदै देश, जनता, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो । ‘समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार : स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा : प्रेस सङ्गठन नेपालको आधार’ भन्ने नाराका आयोजित सो भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत नेता, मन्त्री र पत्रकारिता क्षेत्रका अग्रजको सहभागिता छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.