नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने २ हजार नाघे

'नेपालमा संक्रमितमध्ये शुन्य दशमलव ७ प्रतिशतको मृत्यु भएको छ'

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट गत जेठ ४ गते सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिलाको मृत्यु भएको थियो ।

नेपालमा संक्रमितमध्ये शुन्य दशमलव ७ प्रतिशतको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा थप २७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २७० जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ४०३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६४ हजार १ सय ३७ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा १३३ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.