४० प्रतिशत इँटा उद्योग बन्द हुँदा अर्बौं रुपयाँ गुम्यो

काठमाडौं- कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन् । निजी तथा सरकारी निर्माण कार्य प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका छन् ।

नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकार इँटा उद्योगीले कोभिडकै कारण अर्बौं रकम गुमाएको बताउनुहुन्छ । गत वर्ष ढिलोसम्म पानी परिरहेकाले धेरै इँटा नोक्सान भएको थियो । इँटा बन्ने समयमा कोभिडको प्रभावका कारण व्यवसायी धरासायी भएको उहाँको भनाइ छ । चित्रकारले भन्नुभयो, “४० प्रतिशत उद्योग अहिले पनि बन्द छन् । चलेका उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।” उद्योगीको भट्टामा इँटा नभएको, उठ्नुपर्ने रकम पनि खासै बाँकी नरहेको तर ऋण मात्रै बाँकी रहेको उहाँले गुनासो गर्नुभयो ।

इँटा उद्योग आत्मनिर्भर भए पनि मजदुर भने भारतीयमा निर्भर हुनुपर्ने बाध्यता छ । गत वर्षहरुको तथ्याङ्कलाई हेर्दा ६६ प्रतिशत मजदुर भारतीय हुने गरेका छन् । चित्रकारले भन्नुभयो, “यस क्षेत्रका तीन लाखमध्ये दुई लाख भारतीय मजदुर हुने गरेका थिए ।” उद्योगीले उद्योग सञ्चालन गर्न नसक्नुको पछाडि भारतीय मजदुर र लगानीयोग्य पूँजीको अभाव भएको उहाँको भनाइ छ ।

भारतीय मजदुर आउन चाहेका छैनन् भने ल्याउने अवस्था पनि कठिन भएको उहाँ बताउनुहुन्छ । इँटा उत्पादन गरेर पनि थन्क्याएर राख्नुपर्ने अर्काे बाध्यता रहेको चित्रकार बताउनुहुन्छ ।
महासङ्घका प्रथम उपाध्यक्ष नारायण सापकोटा बजारमा इँटाको माग नै कम हुँदा समस्या आएको बताउनुहुन्छ । मौसममा भर पर्नुपर्ने भएकाले यो व्यवसाय जोखिमपूर्ण भएको उहाँले बताउनुभयो । “कोभिडका कारण धेरै उद्योग पुनः सञ्चालन हुने अवस्थामा छैनन्”, उहाँले भन्नुभयो ।

नेपालमा वार्षिक तीन अर्ब वटा इँटा उत्पादन हुने सङ्घको तथ्याङ्क छ । देशभरमा एक हजार ८०० उद्योग रहेका छन् । सापकोटाको भनाइमा नयाँ ऋणीले सस्तो ब्याजमा ऋण पाए पनि पुरानाले महँगो तिरिरहनु पर्दा नोक्सान बढ्दो छ । उद्योग नचले पनि जग्गा भाडा र कर्मचारी पाल्नुपर्ने बाध्यता उद्योगसँग रहेको छ । उहाँले भन्नुभयो, “जग्गा बेचेर ऋण तिर्नुपर्ने बाध्यतामा उद्योग छन् ।”

उद्योग सञ्चालन गर्न रु दुई करोडदेखि १५ करोडसम्म लगानी गर्ने गरेको व्यवसायीको भनाइ छ । स्थानीय तहहरुले माटो ल्याउन समस्या खडा गर्ने, अनावश्यक कर लगाउने, स्थानीयवासीले प्रदूषणको नाममा अनावश्यक दुःख दिने गरेका कारण पनि यो व्यवसाय प्रभावित भएको सापकोटा बताउनुहुन्छ ।

पछिल्ला वर्षमा प्रदूषणरहित चिम्नी निर्माण गरी इँटा उत्पादन गरिँदै आएको छ । कोभिडले दाङभन्दा पश्चिम क्षेत्रमा कम प्रभाव पारेको भए पनि देशका अन्य क्षेत्र पूर्णरूपमा प्रभावित भएको व्यवसायी बताउँछन् । चितवनको खैरहनीमा रहेको खनाल इँटा उद्योगका सञ्चालक ईश्वरी पण्डित जिल्लाका १८ उद्योगमध्ये दुई वटा मात्रै जेनतेन सञ्चालनमा आएको बताउनुहुन्छ । उहाँले चैत ११ गतेयता उद्योग सञ्चालन गर्न नसकेको गुनासो गर्नुभयो । उद्योग पूर्णरूपमा नोक्सानमा गएको भन्दै उहाँले मजदुरका समस्या समाधान र पुनःसञ्चालनका लागि सुलभ ऋणको व्यवस्था हुनुपर्ने बताउनुभयो । पण्डितले भन्नुभयो, “सरकारले हेरेन भने आत्मनिर्भर यो व्यवसाय सङ्कटमा पर्छ ।”

स्वदेशमा उत्पादन हुने भएकाले देशको ठूलो धनराशी विदेशिनबाट बचेको भन्दै उहाँले सरकारी सहयोग भएमा निर्यातसमेत गर्न सकिने बताउनुभयो । विगतका वर्षमा भारतीय सीमा क्षेत्रमा नेपालबाट इँटा जाने गरेको उहाँले स्मरण गराउनुभयो । नेपाली इँटा उच्च गुणस्तरको हुने गर्दछ । पछिल्ला वर्षमा इँटाको विकल्पमा विभिन्न उत्पादन बजारमा आउन थालेपछि निर्माण क्षेत्रमा यसको प्रयोगसमेत घट्दै गएको हो ।

महासङ्घले प्रदूषण र लागत घटाएर इँटा उत्पादनका लागि पहल गरिरहेको छ । नेपालका ३३ जिल्लाका व्यवसायी सङ्गठित छन् । हालसम्मको तथ्याङ्कलाई हेर्दा रौतहटमा सबैभन्दा बढी १६० वटा उद्योग छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.