नेपाली टेलिभिजनको इतिहासमा ‘नेपाल टेलिभिजन’
काठमाडौं- विश्वमा टेलिभिजन प्रसारण शुरु भएको झण्डै ५० वर्षपछि नेपालमा टेलिभिजन प्रसारण प्रारम्भ भएको हो । नेपालमा पहिलोपटक २०४१ माघ १७ गते अर्थात् सन् १९८५ जनवरी ३० मा नेपाल टेलिभिजनको स्थापना भएको थियो ।
सन् १९३० को दशकमा विश्वमा टेलिभिजन प्रसारण आरम्भ भएको मानिन्छ ।
बेलायतमा बीबीसीले सन् १९३६ बाट नियमित टेलिभिजन प्रसारण आरम्भ गरेको थियो । अमेरिकामा पनि सन् १९३६ मै नेशनल ब्रोडकास्ट टेलिभिजनको स्थापना भएको थियो ।
विश्वमा टेलिभिजन प्रसारण ‘व्लाक एण्ड ह्वाइट’ प्रविधिबाट भएको थियो । विश्वमा टेलिभिजन प्रसारण शुरु भएको झण्डै १८ वर्षपछि सन् १९५४ मा रंगिन टेलिभिजनको प्रसारण शुरु भएको मानिन्छ ।
छिमेकी मुलुक भारतमा पनि सन् १९५९ मा टेलिभिजन प्रसारण शुरु भएको थियो । तर रंगिन टेलिभिजन प्रसारण भने सन् ८० को दशकमा मात्रै शुरु भएको हो । विश्वमा टेलिभिजनको विकासक्रमको गति नियाल्दा नेपालमा निकै पछि मात्रै टेलिभिजन प्रसारण शुरु भएको पाइन्छ ।
टेलिभिजन प्रसारण ढिलो शुरु भए पनि नेपालमा एकै पटक रंगीन टेलिभिजन प्रसारण शुरु भएको थियो। यस अर्थमा नेपाल टेलिभिजनको ‘ब्लाक एण्ड ह्वाइट’ प्रसारणको इतिहास छैन ।
प्रविधिका दृष्टिले रंगीन टेलिभिजनको प्रसारण भएपनि सर्वसाधारणका घरमा ‘ब्लाक एण्ड ह्वाइट’ टेलिभिजन सेटहरु भएकाले लामो समयसम्म आम दर्शकले ‘ब्लाक एण्ड ह्वाइट’ दृश्यहरु नै हेरेका थिए ।
विश्वमा टेलिभिजन शुरु भएको ५ दशक र भूउपग्रहबाट प्रसारण भएको २४ वर्षपछि नेपालमा टेलिभिजन स्थापनको बहस शुरु भएको थियो । त्यति बेलासम्म नेपालमा पनि केही सिमित र हुनेखानेहरुका घरमा टेलिभिजन सेटहरु रहेका थिए । नेपालको आफ्नै टेलिभिजन प्रसारण नभएकाले भारतीय टेलिभिजन च्यानल दूरदर्शनबाट प्रसारण हुने हिन्दी कार्यक्रम नेपाली दर्शकहरुले हेर्ने गर्थे ।
एकातिर भारतीय संस्कृति हावी हुने चिन्ता रहेको थियो । अर्कोतर्फ नेपालमा टेलिभिजन प्रसारण शुरु गर्न मुलुकले धान्न नसक्ने भन्दै तत्कालिन राष्ट्रिय पञ्चायतमा चर्को बहस भएको थियो ।
गरिबी र भौगोलिक विकटता रहेको नेपाल जस्तो मुलुकले टेलिभिजन जस्तो विलासी सञ्चार माध्यम धान्न सक्दैन भन्नेहरुको नीति निर्माण तहमा तत्कालिन समयमा वाहुल्यता थियो ।
बहसकैबीच २०४१ सालमा परियोजनाका रुपमा नेपाल टेलिभिजनको स्थापना भएको थियो । परियोजनाको नेतृत्व तत्कालीन शाही नेपाल चलचित्र संस्थानका नायव महाप्रवन्धक नीर शाहलाई दिइएको थियो ।
नेपाल टेलिभिजन नेपालको पहिलो टेलिभिजन च्यानल हो । UHF प्रविधिमा परीक्षण प्रसारण शुरु भएको नेपाल टेलिभिजनको नियमित प्रसारण भने २०४२ पुस १४ बाट VHF प्रविधिबाट शुरु भएको थियो ।
भूसतही प्रसारण रहेको नेपाल टेलिभिजनको २०५८ सालबाट भने भूउपग्रह मार्फत् विश्वका १ सय ४० देशमा प्रसारण पहुँच पुगेको छ ।
विगतमा ‘एनालग’ प्रविधिमा प्रसारण भएको भूसतही प्रसारण पनि विभिन्न प्रसारण केन्द्रहरुमार्फत् डिजिटल प्रविधिमा रुपान्तरण भइसकेको छ । दुई वटा प्रादेशिक च्यानलसहित नेपाल टेलिभिजनका हाल पाँच वटा च्यानलहरु संचालनमा रहेका छन् ।
नेपाल टेलिभिजनको प्रसारण एस.डी. हुँदै हाल पाँच वटै च्यानल एच.डीमा प्रसारण भइरहेका छन् ।
नेपाल टेलिभिजनको प्रसारण पहुँच ७२ प्रतिशत जनसंख्या र ५० प्रतिशत भूगोलमा रहेको छ । प्रविधिमा रुपमान्तरण गर्दै 4K मा जाने नेपाल टेलिभिजनको अवको लक्ष्य हो ।।
प्रतिक्रिया राख्नुहोस्