आजदेखि बेँसीशहर-चामे सडक तीन दिन बन्द हुने
लमजुङ- गण्डकी प्रदेशअन्तर्गत पहाडी र हिमाली जिल्ला जोड्ने एक मात्र बेँसीशहर-चामे सकड तीन दिनका लागि बन्द गरिने भएको छ ।
लमजुङ र मनाङ जोड्ने उक्त सडकको स्तरोन्नति गर्नका लागि आज बिहान १० देखि बिहीबार राति १० बजेसम्मका लागि पूर्णरुपमा बन्द गरिने भएको हो । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो ।
उक्त सडकखण्डअन्तर्गत लमजुङको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका- ४ स्यागेनिरको सडकमा ढलान कार्य हुने र सो स्थानमा सडक निकै साँघुरो भएकाले सानाठूला सबै प्रकारको सवारीसाधन आवतजावतमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताउनुभयो ।
डुम्रे-बेँसीशहर-चामे सडक योजना कार्यालयका इन्जिनीयर तथा सूचना अधिकारी सुरज महर्जनका अनुसार उक्त स्यागेनिरको १०० मिटर खण्डमा ढलान (पिसिसी) कार्य गरिने भएको छ । नेपाली सेनाले भिर खोपेर निर्माण सम्पन्न गर्दै विसं २०६९ मा सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो ।-
प्रतिक्रिया राख्नुहोस्