१ लाख ४५ हजार ८४४ जनाले लगाए कोरोना खोप

काठमाडौं– कोभिड- १९ खोप अभियान अन्तर्गत आजसम्म १ लाख ४५ हजार ८४४ जनालाई खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर सञ्चालन गरिएका २०१ खोप बुथहरुबाट खोप दिइएको र सबैभन्दा बढी बागमती प्रदेशमा ५० हजार ७५० ले खोप प्राप्त गरेको मन्त्रालयको भनाइ छ । यसैगरी कोभिड- १९ रोकथामका लागि शुरु गरिएको खोप अभियानमा ढुक्कसँग सहभागी हुन चिकिसहरुले आग्रह गरेका छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा काठमाडौं विश्वविद्यालय जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम निर्देशक डा. विराज कर्माचार्यले खोपले राम्रो सँग काम गर्न केही समय लाग्ने बताउनु हुँदै कोभिड- १९ का नयाँ प्रजातीहरुमा खोपले राम्रोसँग काम नगर्न सक्ने बताउनुभयो । खोप लगाइसकेपछि पनि स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्नुभयो ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ३ हजार ५ सय ९७ पीसीआर परीक्षणका क्रममा ५२ जना महिला र ९० जना पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ । यसैगरी काठमाडौं उपत्यकामा मात्रै ५५ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा २ सय ६ जना संक्रमणमुक्त भएको मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
पछिल्लो पटक कोरोना संक्रमण भएर थप एक जनाको मृत्यु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्