कोरोना खोपको थप डोज उपलब्ध गराउन भारतलाई आग्रह

नयाँ दिल्ली- सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना विरुद्धको खोप अनुदान बढाउन भारतसँग आग्रह गर्नुभएको छ ।

विश्व रेकर्डको प्रमाणपत्र लिन भारत पुग्नुभएका मन्त्री मानन्धरले छिमेकी भारतले कोरोनाविरुद्धको अनुदानमा दश लाख डोज खोप उपलब्ध गराएकोमा नेपाल सरकारका तर्फबाट धन्यवाद दिंदै थप खोप उपलब्ध गराइदिन आग्रह गर्नुभएको हो ।

दिल्ली अध्ययन केन्द्रले आयोजना गरेको नेपाल भारत सम्बन्ध विषयक अन्तर्क्रियामा बोल्दै मन्त्री मानन्धरले छिमेकी मुलुक भारतले कोरोना नियन्त्रणमा हासिल गरेको सफलता नेपालका लागि पनि लाभदायी भएको बताउनुभयो । मन्त्री मानन्धरले भारतमा उत्पादित कोरोना विरुद्धको खोपको प्रभावकारीता राम्रो देखिएको बताउँदै अनुदान बढाउन आग्रह गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री मानन्धरले दुई देशबीच पौराणिक कालदेखिको सम्बन्ध रहेको बताउँदै संस्कार र साँस्कृतिक रुपमा समानता नै दुई देशीचको सम्बन्धको आधार रहेको बताउनुभयो ।

नेपाल भारतबीच केही स्थानमा सीमा विवाद देखिएको बताउँदै मन्त्री मानन्धरले आपसी समझदारी र छलफलबाट सीमा विवाद टुग्याउनुपर्ने बताउनुभयो । सीमा विवाद समाधानमा ढिलाई गर्न नहुने बताउँदै मन्त्री मानन्धरले वार्तामा बस्न नेपाल तयार रहेको बताउनुभयो ।

कार्यक्रममा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले महामारी नियन्त्रणका लागि भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको दश लाख डोज खोप आपत्कालिन प्रयोगका लागि उपलब्ध गराएको बताउँदै भारतले सबैभन्दा बढी प्राथमिकता नेपाललाई दिने बताउनुभयो । भारतको सबैभन्दा पहिलो मित्र राष्ट्र नेपाल भएको बताउँदै नेता जोलीले सम्भव भएसम्म कोरोनाविरुद्धको खोपको थप डोज उपलब्ध गराइने बताउनुभयो ।

प्रधानमन्त्री मोदीसहित भारत सरकार सम्भव भएसम्म नेपाललाई थप खोप उपलब्ध गराउन प्रयासरत रहेको जोलीले बताउनुभयो । नेता जोलीले प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्रिय विकास योजनाबाट सबैभन्दा बढी लाभ नेपालले लिनसक्नुपर्नेमा जोड समेत दिनुभयो । नेता जोलीले नेपालमा भारतप्रतिको दृष्टिकोरणमा केही भ्रम देखिएको बताउँदै शंकाको दृष्टिले नहेर्न आग्रह पनि गर्नुभयो ।

विकसित र प्रगतिशिल नेपाल भारतको चाहना भएको बताउँदै नेता जोलीले प्रधानमन्त्री मोदीको चाहना पनि समृद्ध नेपाल भएको बताउनुभयो । लाखौं भारतीय नेपालमा र लाखौं नेपाली भारतमा रोजगारीका लागि आउने जाने चलन रहेको बताउँदै नेता जोलीले दुई देशबीचको सम्बन्धलाई सीमाले नछेक्ने बताउनुभयो । नेपाल भारतबीच केही स्थानमा सीमा विवाद रहेको स्विकार गर्दै नेता जोलीले हतारमा कुने पनि निर्णय गर्न नहुने बताउनुभयो ।

नेता जोली र मन्त्री मानन्धरबीच दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बनाउनका लागि गर्नसकिने कामका बारेमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.