देशका विभिन्न स्थानमा वर्षा र हिमपातले जनजीवन प्रभावित

हिमपातपछि हिमाली जिल्लाका किसानहरु हर्षित

काठमाडौं- पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा  वर्षा र हिमपात भएको छ ।

हिजोदेखि नै वर्षा र हिमपात सुरु भएपनि आज तुलनात्मक रुपमा बढी वर्षा र हिमपात भएको हो ।

यसैबीच उपत्यकाका आसपासका डाँडा फूलचोकी, चन्द्रगिरि, नगरकोटलगायत स्थानमा पनि हिउँ परेको छ । वर्षा र हिमपातले चिसो बढेको छ ।

पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं उपत्यका आसपासका पहाड तथा डाँडाहरुमा हल्का हिउँ परेको हो ।  चिसो वर्षा र हिमपातका कारण देशभर चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।।

दोलखामा हिमपातले उत्साह

दोलखामा भने हिमपातले व्यवसायी हरु खुशी भएका छन्। उच्च हिमाली भेगमा परेको हिमपातले होटल व्यवसायी र किसान उत्साहित भएका हुन ।

कोरोनाको कारण ९ महिनासम्म बन्द रहेको होटल व्यवसायी हिउँ परेपछि आन्तरिक पर्यटकहरु जिल्ला भित्रने आशामा  उत्साहित भएका हुन ।

त्यस्तै  जिल्लामा राम्रो उत्पादन हुने आलु, काउली, बन्दा, गहुँ लगायतको बालीलाई राम्रो हुने र उत्पादन बढ्ने हुँदा किसानसमेत उत्साहित भएका छन् ।।

रसुवामा पनि बाक्लो हिमपात

रसुवाको सदरमुकाम धुन्चे लगायत जिल्लाका उत्तरी क्षेत्रमा पुन: हिमपात भएको छ ।

पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएसँगै हिजो दिनभर र आज बिहानैबाट सदरमुकामलगायत आसपास क्षेत्रहरुमा हिमपात भएको हो ।

केही समयअघि उच्च हिमाली क्षेत्रमा सामन्य हिमपात भएपनि आज बर्षातसँगै जिल्ला सदरमुकाम लगायत दर्जनौँ बस्तीहरुमा बाक्लो हिमपात भएको गोसाइकुण्ड गाँउपालिका एक थुमनका दावा तामाङले बताउनुभयो ।

रसुवाको लाङटाङ, क्यान्जिङ, गोसाँईकुण्ड यार्सा, गत्लाङ र नागथली जस्ता उच्च क्षेत्रमा बाक्लो हिमपात भएको छ । पानी र हिमपात भएपछि अन्नबाली सप्रिने भयो भन्दै किसानहरु खुशी भएका छन ।।

मुस्ताङ र म्याग्दीमा हिमपातका कारण जनजीवन प्रभावित

बिहानैदेखि परेको वर्षासँगै आएको हिमपातका कारण मुस्ताङ र म्याग्दीका विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर तथा चराङमा १ फिटसम्म बाक्लो हिउँ जमेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताउनुभयो ।

मुक्तिनाथ, कागबेनीमा पनि १ फिटसम्म हिउँ जमेको छ भने हिमपातकै कारण कागबेनीभन्दा माथि यातायात चल्न नसक्ने उहाँले जानकारी दिनुभयो । हिमपातपछि म्याग्दी र मुस्ताङका डाँडाकाँडाहरु सेताम्य भएका छन् ।

मुस्ताङको तापक्रम माइनस तर्फ झदै गैरहेको बताइएको छ भने चिसो बढेपछि सर्वसाधारणहरु घरभित्रै बस्न बाध्य बनेका छन् ।

म्याग्दीको माथिल्लो क्षेत्रमा पर्ने गूर्जा, लुलाङ, मुदी, मल्कबाङ, कुईनेमङ्गले, टोड्के, खोप्रालेक, घोडेपानी, पुनहिल, महरेडाँडा, नांगी लगायतका क्षेत्रमा हिमपात भएको छ ।।

मनाङमा हिमपातले सडक अबरुद्द सडक खुलाउन सुरक्षाकर्मी खटाइयो

हिजो बिहानदेखि परेको हिमापातले मनाङका गाउँ वस्ती र सडक सेताम्य भएका छन् । जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले हिमपातका कारण अवरुद्ध सडक र बाटाघाटाहरु  खुलाउने प्रयास गरेका छन ।

हिमपातका कारण अन्नबाली सप्रिने भन्दै किसानहरु खुशी भएका छन ।

लगातारको चिसोले भने जनजीबन कठिन बनाएको स्थानीयदबासिन्दाको भनाइ छ ।

झन्ण्डै  दुईमहिनादेखि नासो गाउँपालिकाको जङ्गलमा लागेको डडेँलो हिमपातका कारण पूर्ण रुपमा निभेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.