निर्वाचनको कामलाई निरन्तर अघि बढाउन आयोगलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जानुुभई आगामी प्रतिनिधिसभा निर्वाचन तयारीबारे जानकारी लिनुभएको छ ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उहाँलाई निर्वाचनको तयारी, शान्ति सुरक्षा र बजेटलगायत समग्र वस्तुस्थितिबारे अवगत गराउनुभएको थियो । सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनाव गर्ने गरी पुस ५ गते नै निर्वाचनको मिति घोषणा गरेको थियो ।

आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोगले गरिरहेको तयारीबारे जानकारी लिन प्रधानमन्त्री जानुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले प्रमुख आयुुक्तसहितका आयुक्तसँग निर्वाचनको तयारीबारे छलफल गरेको र आयोगले गरिरहेको तयारी सन्तोषजनक रहेको भनी धन्यवाद ज्ञापन गर्नुभएको उहाँले बताउनुभयो ।

निर्वाचनको कामलाई निरन्तर अघि बढाउन आयोग पदाधिकारीलाई सुझाव दिँदै प्रधानमन्त्री ओलीले सोका लागि सबै प्रकारका स्रोतसाधन उपलब्ध हुने तथा कुनै कमी हुन नदिइने विश्वास दिलाउनुभएको थियो ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)विवाद सम्बन्धमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यही माघ ११ गते एउटा निर्णय दिइसकेकामा माघ २० गते अर्को निवेदन पनि प्राप्त भएको जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले त्यस विषयमा निर्वाचन कानून, हिजोका अभ्यासलगायत धेरै विषयका सन्दर्भमा जानकारी राख्दै जिज्ञासा माग गर्नुुभएको थियो । प्रधानमन्त्री ओलीले मूलतः निर्वाचनको तयारी सम्बन्धमा नै आयोगले गरिरहेको कामको जानकारी लिनका निम्ति जानुभएकाले त्यसमा नै केन्द्रित रहेर छलफल भएको सल्लाहकार थापाले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीका साथ उपप्रधानमन्त्री, अर्थमन्त्री, कानून, न्याय तथा संसदीय मामिलामन्त्री तथा दलका तर्फबाट निर्वाचनसम्बन्धी जिम्मेवारी र सम्पर्क तोकिनुभएका पूर्वसभामुख सुवास नेम्वाङलगायत नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता आयोग पुग्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.