खुर्कोट-दाना प्रसारण लाइन : बागलुङलाई फाइदै फाइदा
बागलुङ- कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना-खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार भएको छ । केन्द्रीय प्रसारण लाइनमा जोडिएको उक्त सबस्टेशनले दूरदराजमा उत्पादन भएको विद्युत्लाई केन्द्रिकृत गर्ने जनाएको छ ।
दूरदराजमा उत्पादन भइरहेका ठूला आयोजनाको विद्युत् खेर गइरहेको सन्दर्भमा करिडोर प्रसारण लाइन निर्माण भएर केन्द्रीय प्रसारण लाइनमा जोडिएपछि विद्युत् क्षेत्रमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ । पर्वत जिल्ला र म्याग्दी जिल्लामा प्रसारण लाइन तथा सबस्टेशन निर्माण भए पनि बागलुङले समेत यसको प्रत्यक्ष लाभ लिन सक्ने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा सन् २०१६ मे ३० मा दाना-खुर्कोट प्रसारण लाइन आयोजना निर्माण शुरु गरेको थियो । खोला नदीबाट विद्युत् उत्पादन गरेर मात्रै हुँदैन । उत्पादित विद्युत्को यथेष्ट प्रयोग माग र आपूर्तिका आधारमा सम्बन्धित क्षेत्रमा पुर्याउन जरुरी हुन्छ । यसका लागि एक स्थानमा उत्पादन भएको विद्युत् अर्को स्थानमा खपत गर्न सकिने अवसरका लागि केन्द्रीय प्रसारण लाइन र सब-स्टेशन निर्माण गर्नुपर्दछ ।
दाना-खुर्कोट प्रसारण लाइन र सबस्टेशन निर्माणपछि धौलागिरिको उद्योग व्यवसायमा समेत सकारात्मक टेवा पुग्ने आशा गरिएको छ । हालसम्म औद्योगिक ग्राम तथा ठूला उद्योगहरु साविक धौलागिरिका चार जिल्लामा छैनन् ।
अब ठूला उद्योगहरु सञ्चालनमा समेत यसले प्रोत्साहित गर्नेछ । उक्त प्रसारण लाइनले धौलागिरिमा मोदी खोला हुँदै विद्युत् भित्र्याउँदै आएकोमा यसलाई प्रतिस्थापन गरी धौलागिरिको विद्युत् बाहिर पठाउँदै जाने विद्युत् प्राधिकरणले जनाएको छ ।
दाना सबस्टेशनबाट मुस्ताङ जिल्लाको फिडर जोडिएका कारण अब मुस्ताङ जिल्लामा विद्युत्मा समस्या हुँदा बागलुङमा कुनै अवरोध नआउने नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख इञ्जिनीयर शिवनारायण गोशालीले जानकारी दिनुभयो । उहाँका अनुसार बागलुङलाई अहिलेदेखि पछि दीर्घकालसम्मका लागि खुर्कोट-दाना सबस्टेशनले फाइदा पुर्याउनेछ ।
अहिले मुस्ताङमा उत्पादन भएको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन गरेको १३.४ र म्याग्दीको घलेम्दी जलविद्युत आयोजनाको पाँच मेगावाट विद्युत् करिडोर प्रसारण लाइनले छोएको दाना सब-स्टेशनबाट जोडिएको छ ।
केन्द्रीय प्रसारण लाइनमा दाना नपुग्दासम्म मुस्ताङको थापाखोला जलविद्युत् आयोजना आधा क्षमतामा मात्रै चल्दै आएको थियो । अहिले केन्द्रीय प्रसारण लाइनमा जोडिँदा पूरा क्षमतामा आयोजना चल्न शुरु गरेको छ । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा उत्पादन भएको विद्युत् खुर्कोट सबस्टेशनमार्फत वितरण हुनेछ ।
अहिले बागलुङमा मोदी सबस्टेशनमार्फत विद्युत् वितरण हुँदै आएको थियो, जुन निर्विकल्प थियो तर नयाँ प्रसारण लाइन तथा खुर्कोट सबस्टेशन बनेपछि बागलुङमा छुट्टै फिडर निकाल्न सकिनेछ । कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना-खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार भएपछि बागलुङमा छुट्टै फिडर ल्याउने विकल्प तयार भएको छ ।
यदि जिल्लाका लागि छुट्टै फिडरको व्यवस्था गर्न सकिए विद्यमान अनियमित विद्युत् कटौतीको समस्या ९० प्रतिशत कम भएर जाने नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख गोशालीले बताउनुहुन्छ । पहिला चार जिल्ला एउटै फिडरमा चल्दा एक स्थानमा विद्युत् जाँदा चार जिल्लानै अन्धकार हुन्थ्यो तर अब मुस्ताङ छुट्टै फिडरमा गयो ।
अन्य जिल्लामा समस्या आउँदा बागलुङमा विद्युत् जाने समस्या छ । झण्डै रु २५ करोड खर्चेर खुर्कोट सबस्टेशनदेखि ५०० मिटरको दूरीमा रहेको बागलुङ आउने प्रसारण लाइनमा जोड्न सके अनियमित विद्युत् हटेर जाने गोशालीको भनाई छ ।
यस्तै कुश्मिशेरा सबस्टेशन निर्माणको क्रममा रहेकाले त्यसलाई पर्वत जिल्लाबाट जोड्न सकिनेछ । यसबाट ठेउलेखोला जलविद्युत् आयोजनासमेत सबस्टेशनमा जोड्न सहज हुनेछ । बिद्युत् नियमित भए २५ प्रतिशत व्यवसाय बढ्ने होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका संयोजक तथा पर्यटन व्यवसायी अर्जुन चोखालको भनाइ छ ।
विद्युत् आपूर्ति नियमित भए विद्युतीय उपकरण खरिद तथा मर्मत सम्भारको रकम बचत हुनेछ । प्रसारण लाइनमा दुई ठूला आयोजना घलेम्दी र थापाखोला जलविद्युत् आयोजना जोडिएको प्रसारण आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताउनुभयो । सबस्टेशनसहित ३९.६ किलोमिटर दूरीको दाना-खुर्कोट प्रसारण लाइन निर्माण गर्न टाटा-चिन्ट इलेक्ट्रिक जेभीले रु दुई अर्ब ९० करोडमा ठेक्का लिएर काम सम्पन्न गरेको छ ।-
प्रतिक्रिया राख्नुहोस्