स्याङ्जाका ४९ वटै ‘होम स्टे’ संचालनमा
स्याङ्जा- कोरोना महामारीले झन्डै एक वर्ष पर्यटन व्यवसायलाई ठप्प बनायो । चैत्र ११ गतेको लकडाउनसँगै देशका होमस्टेसमेत प्रभावित बने । अहिले कोरोना बिस्तारै नियन्त्रणमा आएको भन्दै स्याङ्जाका ४९ वटा होमस्टे एकैसाथ संचालनमा आएका छन् ।
देशकै पहिलो ग्रामीण पर्यटकीय क्षेत्र सिरुबारी होमस्टेबाट जिल्लाभरका होमस्टे सुरु भएको सन्देश प्रवाह गर्न २ दिने परिचयात्मक कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रममा जिल्लाभरका होमस्टे संचालक ,स्याङ्जा र छिमेकी जिल्लाका संचारकर्मीको सहभागिता थियो ।
आँधिखोला गाउँपालिका १ का वडा अध्यक्ष लोकप्रसाद ढकालले मंगलबारदेखि जिल्लाको ४९ वटै होमस्टे एकै साथ सांचालनमा आएको घोषणा गर्नुभयो ।
कल्चर, नेचर र एड्भेन्चर नै पर्यटन क्षेत्रको मेरुदण्ड रहेको बताउँदै होमस्टे संघ जिल्लाका अध्यक्ष मोहन खनालले आगामी फागुन २७ गतेदेखि २९ गतेसम्म सुन्तलाबारी होमस्टेको कुलमान घिसिङ झरनामा क्यानोनिङ प्रतियोगिता गरिने बताउनुभयो।
प्रदेशस्तरीय मैत्रीपूर्ण प्रतियोगितामा प्रदेशको ११ जिल्लालाई पत्राचार गरिएको र वटा झरनालाई क्यानोनिङ र रक क्लाईम्बिङको रुपमा बिस्तार गर्न खोजिएको उहाँले जानकारी दिनुभयो ।
मंगलबारदेखि यहाँका होमस्टे संचालमा आएको सिरुबारी होमस्टेका संयोजक जुम गुरुङले जानकारी दिनुभयो ।
स्थापना कालमा ४३ घरबाट संचलान गरिएको होमस्टेमा अहिले २३ घरमात्र आवद्ध छन् । एकै रातमा ६० जनासम्म पाहुना बस्न सक्नेछन् । १६१० मिटरको उचाईमा रहेको सिरुबारी होमस्टेमा गुरुङ समुदायको संस्कृति झल्किने भेषभुषा , रहन सहनमा पाहुनाले मनोरञ्जन लिन सक्नेछन् ।
२०५४ सालमा देशकै पहिलो ग्रामिण पर्यटकीय क्षेत्र सिरुबारीमा होमस्टे संचालमा आएको हो । तत्कालिन स्व.क्याप्टेन रुद्रमान गुरुङको पहलमा सुरु गरिएको होमस्टे अहिले देशभरका घरबास कार्यक्रमको अभिभावक बन्न सफल भएको छ । स्याङ्जामा अधिकाशं होमस्टे गुरुङ र मगर समुदायको बस्तीमा संचालन गरिएको छन ।।
प्रतिक्रिया राख्नुहोस्