पूर्वसांसद रानाभाटको निधन
काठमाडौं- पूर्वसांसद एकनाथ रानाभाटको आज निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा उहाँको निधन भएको हो ।
उच्च रक्तचापका कारण मस्तिष्काघात भई १६ दिनदेखि उहाँको मेडिकल कलेजमा उपचार भइरहेको थियो । रत्ननगर नगरपालिका वडा नं १४ पिठुवा निवासी रानाभाट विसं २०५६ मा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेका अनुसार विसं २००९ कात्तिक २८ गते स्याङ्जाको भाटखोलामा उहाँको जन्म भएको थियो ।
रानाभाट नेपाली कांग्रेस चितवनका पूर्वसचिव, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्षलगायत विभिन्न पदमा रही कार्य गर्नुभएको थियो । उहाँका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । उहाँको मङ्गलबार बिहान देवघाटमा अन्त्येष्टि गरिँदैछ ।
कांग्रेस चितवनले शोक वक्तव्य जारी गर्दै पार्टीले एक निष्ठावान् नेता गुमाएकामा दुःख प्रकट गरेको छ । जिल्ला सभापति जीतनारायण श्रेष्ठले उहाँको निधनले सिङ्गो कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । उहाँका अनुसार बिहान ८ः३० बजेदेखि एक घण्टा उहाँको शव पार्टी कार्यालय नारायणगढमा राखिनेछ ।
प्रतिक्रिया राख्नुहोस्