ताप्लेजुङ र तनहूँमा आगलागी, ताप्लेजुङमा ३५ घर जलेर नष्ट
ताप्लेजुङ- ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ ।
आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताउनुभयो । दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । उहाँले भन्नुभयो, “आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्र्दै छौं ।”
ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म पनि आगलागी क्षेत्रमा जाँदै छु । आगलागी भीषण छ भन्ने खबर आएको छ ।” सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिनुभयो ।।
यसैगरी, तनहूँ जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ ।
सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । होटलको पहिलो तलामा रहेको आगन्तुककक्ष जलेर पूर्णरूपमा क्षति भएको उहाँले बताउनुभयो ।
आगलागीबाट मानवीय क्षति भने भएको छैन । होटलमा रहेको केही पाहुनालाई घरको छतबाट उद्धार गरिएको बताइएको छ ।।
प्रतिक्रिया राख्नुहोस्