कर्णालीमा आत्महत्या गर्ने ५ जनामध्ये ४ जनाको शव भेटियो

दैलेख- दैलेखको आठविस नगरपालिका–३ निमाइलका एउटै घरका ५ जनाले कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेका छन् ।

२३ गते राति घरबाट बेपत्ता भएकी सुखी बडुवाल, उनका ३ छोरी र १ छोराले सामूहिक रुपमा कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

बेपत्ता भएका मध्ये दुई छोरी १५ बर्षीया कल्पना बडुवाल र १२ बर्षीया सरिता बडुवालको हात बाँधेको अवस्थामा २४ गते सोमबार साँझ कर्णाली नदीमा शव फेला परेको थियो भने आमा सुखी बडुवाल र ८ बर्षिय छोरा ललित बडुवालको शव मङ्गलवार दिउँसो कर्णाली नदीमा फेला परेको छ ।

५ बर्षिया रजनी बडुवालको खोजी तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले जानकारी दिनुभएको छ ।

अहिले घटनास्थलमा दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठ र सुर्खेतका प्रहरी प्रमुख डिआइजी बसन्त पन्त र गोताखोरको टोली समेत पुगिसकेको छ । खोजी कार्य तीव्र पारिएको छ ।

सनाखत भएका ४ जनाको शव पोस्टमार्टमका लागि अछामको मङ्गलसेन लगिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभएको छ ।

घर मुली मानसिंह बडुवालले श्रीमतीसहित सबै परिवारलाई मदिरा सेवन गरेर लगातार तनाव दिएपछि २३ गते साँझ नै ४ जना केटाकेटी सहित सुखी बडुवाल घरबाट निस्किएको स्थानीयले बताएका छन् ।

गरिब परिवार भएकोले एउटा समस्या थियो तर मदिरा सेवनसँगै लगातार घर मुलीले तनाव दिएपछि पाँच जना नदिमा हाम फाल्नुपर्ने अवस्था आएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

घरमुली मानसिंह बडुवाललाई प्रहरीले पक्राउ गरेर राकम कर्णाली प्रहरी चौकीमा अनुसन्धान गरिरहेको छ ।

घरेलु हिंसाकै कारण नाबालकले समेत अनाहकमै ज्यान गुमाउनु परेको विषयलाई लिएर अधिकारकर्मीहरूले विरोध जनाएका छन् ।

तीनै तहका सरकारहरूले वडा तहसम्मका नागरिकहरूको समस्या के, छ कसरी बसेका छन्, घरेलु मदिराको बिक्री कस्तो छ र  समस्यामा परेका महिला र बालवालिकाहरुको अवस्थासमेत तत्काल चित्रण गरेर आगामी दिनहरूमा यस्ता घटनाहरू घट्न नदिने वातावरण तयार गर्न आग्रह गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.